नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले अमेरिकाको दादागिरीको युग सकिएकाले विनासंशोधनको एमसिसी नेपाललाई नचाहिने बताएका छन् ।
शुक्रबार नेकपा एससम्बद्ध जनसंगठनद्वारा आयोजित एमसिसीविरुद्ध खबरदारी सभामा बोल्दै नेता खनालले छिमेकी राष्ट्रलाई रुष्ट बनाएर टाढाको मुलुकलाई रिजाउन खोजे त्योभन्दा ठूलो दुर्भाग्य नेपालका लागि अरू कुनै नहुने दाबी गरे । उनले छिमेकी राष्ट्रहरूलाई रुष्ट बनाउँदा युक्रेनको जस्तो दुर्भाग्य नेपालले पनि खेप्नुपर्ने हुन सक्ने बताए । उनले छिमेकी देश चीन र भारतकाविरुद्ध नेपालमा कुनै पनि गतिविधि भए नेपालको अस्तित्वमाथि खतरा पैदा हुने भन्दै चिन्ता व्यक्त गरे ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै अहिले प्रतिगामी शक्तिहरूले एमसिसी चाहियो भनेर झलनाथ खनालले भनेको आरोप लगाइरहेको भन्दै त्यो सरासर झुटो भएको बताए । ओलीले शुक्रबार पोखरामा आयोजित एक सभालाई सम्बोधन गर्दै झलनाथ खनालको प्रधानमन्त्री कार्यकालमा एमसिसी चाहियो भनेर पत्र लेखिएको बताएका थिए ।
नेता खनालले आफ्नो कार्यकालमा एमसिसीसँग कुनै कुरामा पत्र लेखेको डकुमेन्टहरू लिएर आउन पनि चुनौती दिए । उनले एमसिसीलाई पत्र लेख्ने कुरा डा. बाबुराम भट्टराई प्रधानमन्त्री बनेदेखि सुरु भएको र यो कुरा दिउँसोको घामजत्तिकै छर्लंग रहेको बताए । नेता खनालले अहिले देशमा अर्कोले गल्ती गर्यो म पनि गल्ती गर्छु भन्ने ढंगले राष्ट्रघाती कदमहरू चालिएको आरोप लगाए ।