वर्ष दिनमा चितुवाले १० बाख्रा र दुई कुकुर खायो
इस्मा गाउँपालिका- १ हस्तिचौर उजुङका खेतबहादुर कुँवर शनिबार बिहान गोठको घाँसपात सकेर बाख्रा घाममा सार्ने तरखर गर्दै थिए । गाउँमा चितुवा आएको हल्लाखल्ला भयो । हल्लाखल्ला सुनेर उनी घरमाथि निस्किए । उनले चितुवा दौडिएको देखे । चिच्याएर छिमेकी गुहारे, प्रहरीलाई फोन पनि गरे । चितुवा खरबारीतिर पस्यो ।
केहीबेरमा करिब ७०–८० जना स्थानीय भेला भए । चितुवा कतै देखिएन । गाउँले फर्किनेबित्तिकै कुँवरलाई चितुवाले झम्टियो । चितुवाको आक्रमणबाट कुँवरको दाहिने हात दुई ठाउँबाट भाँचिएको छ भने छातीमा पनि चिथोरेको छ ।
चितुवाको आक्रमणमा परेर घाइते भएपछि उनलाई गुल्मी अस्पताल लगियो । चितुवाले टोकेर कुँवरको हातको दुई ठाउँमा हड्डी नै फुटेको र छातीमा समेत समस्या देखिएकाले पाल्पा रेफर गरिएको गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले बताए । अहिले उनको पाल्पाको मिसन अस्पताल उपचार भइरहेको छ । हातको घाउ निको भएपछि पुन: अप्रेसन गर्नुपर्ने भएको छ ।
पशुचौपायापछि मान्छेमा आक्रमण
चितुवाले कुँवरलाई मात्र आक्रमण गरेको छैन, एक वर्षभित्र उनका आठ माउबाख्रा, दुई बोका र दुई कुकुर पनि खाएको छ । घर, खरबारी र जंगलमा चितुवाले पशुचौपाया मार्न थालेपछि कुँवर परिवार विक्षिप्त भएकाे छ । अहिले मानिसलाई नै आक्रमण गरेपछि गाउँमा नै त्रास फैलिएको छ ।
न त राहत न त विकल्प
कुँवर परिवारले लामो समयदेखि गाउँमा कृषि र पशुपालन गरिरहेको छ । पशुपालन पुर्खौली पेसा र जग्गा जमिन गाउँमा भएकाले तत्काल गाउँ छोड्न नसकिएको पीडित खेतबहादुरले बताए । घरमा चौरासी पुगेकी आमा र कुँवरदम्पती छन् । छोराहरू अध्ययनका लागि बाहिर छन् । आफ्नाे अरू आर्थिक स्राेत नभएका कारण गाउँमै बाख्रा पालन र कृषि गरिरहेको कुँवरले बताए ।
चितुवाले निरन्तर पशुचौपायासहित मान्छेमा नै आक्रमण गर्न थाल्यो । पटक–पटक बाख्रामा आक्रमण गरेपछि कुँवर आफू घाइते हुने दुई दिनअघि गाउँपालिका र प्रहरीचौकीमा पुगेका थिए । तर, दुवै ठाउँबाट प्रमाण खोजेपछि कुँवर निराश भएर घर आए । ‘चौकी र पालिकाबाट प्रमाण खोइ भने । मैले चितुवाले खाएको प्रमाण के पेस गरौँ,’ उनले भने, ‘अहिले म आफैँ चितुवाको मुखमा परेर बाँचेँ ।’
इस्मा गाउँपालिका उपप्रमुख विमला खत्रीले वन कार्यालयले चितुवाले आक्रमण गरेको प्रमाण खोजेर किसानलाई दु:ख दिइरहेको बताइन् । उनले चितुवाले पशुचौपाया लगेर गएपछि फोटो खिच्न पछिपछि दौडन नहुने भएकाले किसान मारमा परेकाले कार्यविधि सच्याउनुपर्नेमा जोड दिइन् ।