दाङमा ट्रकको ठक्करबाट मोटरसाइकलचालकको मृत्यु, प्रदर्शनपछि प्रहरीद्वारा अश्रुग्यास प्रहार

सोमबार, ९ फागुन, २०७८
डिजिटल संस्करण

दाङकाे घोराही उपमहानगरपालिकामा ट्रकको ठक्करबाट मोटरसाइकलचालकको मृत्यु भएको छ। लमही–तुलसीपुर सडकखण्डअन्तर्गत घोराही– ३ भानुचोकमा लमहीतर्फ जाँदै गरेको प्रदेश १ ०२००१ ख ९४०४ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको रा.२प ८९२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक १९ वर्षीय अर्जुन खड्काको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालका  अनुसार बिहान ९ बजे भएको उक्त दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु भएको हो।  मृतकका  आफन्तले घोराही– ३ कुइरेपानीनजिकै सडक अवरुद्ध गर्दा लमही–घोराही सडकखण्डमा सवारीसाधनको आवतजावत ठप्प भएको छ। मृतकका आक्रोशित आफन्तहरू प्रदर्शनमा उत्रिएपछि प्रहरीले बल प्रयोग गरेको छ। भिड नियन्त्रण गर्न १२ सेल अश्रुग्यास प्रहार गरेको प्रहरीले जनाएको छ।

ट्रकचालकलाई कारबाही गरी मृतकको परिवारलाई राहत दिनुपर्ने उनीहरूको माग छ। ट्रकचालक ऋरेन्द्रकुमार पूर्वेलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
 

सुझावित समाचार