नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेसले सरकारमा रहँदा एउटा र सरकारबाहिर रहँदा अर्को चरित्र नदेखाउने बताएका छन्। बालुवाटारमा नेता अर्जुननरसिंह केसीद्वारा लिखित कांग्रेसको संक्षिप्त इतिहास सार्वजनिक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
‘नेपालको अन्तर्राष्ट्रिय विश्वसनीयताको निम्ति एउटा राजनीतिक दलले निर्वाह गर्नुपर्ने कर्तव्यका निम्ति यी सबै कुराहरूमा नेपाली कांग्रेस पार्टी अरूजस्तो सरकारमा बस्दा एउटा, बाहिर बस्दा एउटा बोली फेरिराख्ने चरित्र बोक्दैन,’ उनले भने।
कार्यक्रममा बोल्दै उनले आगामी निर्वाचनमा कांग्रेसले आफ्नो पार्टीको परिचय कायम राख्नुपर्ने बताए। नेपालको अन्तर्राष्ट्रिय विश्वास कायम राख्नका लागि कांग्रेसले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने महामन्त्री थापाको भनाइ थियो । ‘कांग्रेस नेतृत्वले खुट्टा कमाउनुहुँदैन अहिले। पार्टीको निर्वाचनको क्षण, तत्क्षणको लाभ–हानि यी सबैकुरालाई बिर्सेर भए पनि आजको दिनमा नेपाली कांग्रेस पार्टीले आफ्नो परिचय कायम राख्नुपर्छ। नेपालको राष्ट्रिय हितको रक्षाका निम्ति अघि बढ्नुपर्छ, कसले के भन्यो भन्ने कुरासँग होइन,’ थापाले भने।