नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसले सरकारमा रहँदा र प्रतिपक्षमा रहँदा दोहोरो चरित्र नदेखाएको बताएका छन्। मंगलबार नयाँबानेश्वरस्थित संसद्भवनमा आयोजित संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा थापाले एमसिसीको सन्दर्भमा यस्तो बताएका हुन्।
बैठकमा पार्टी सभापति तथा प्रधानमन्त्री देउवाले एमसिसीको बारेमा नाफाघाटा नहेरी संसदबाट पारित गर्नुपर्छ भन्ने प्रस्तावलाई अघि बढाउने बताएकाे उनले उल्लेख गरे। तत्कालीन नेकपा सरकार रहँदा एमसिसीबारे मन्त्रिपरिषदबाट गरिएको निर्णयमा नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले सहयोग गर्ने विश्वास पनि प्रधानमन्त्रीले लिनुभएको बताए।
'उहाँ (केपी ओली)को नेतृत्वमा रहेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकार र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)बीचमा भएको अनुदान सहयोग सम्झौतालाई अनुमोदनका लागि मन्त्रिपरिषदमा पेस गर्ने र अनुमोदन भइसकेपछि दातृ निकायलाई जानकारी गराउने भनेर जुन प्रस्ताव पारित गर्यो, पारित गरेको प्रस्तावले २०७६ साल असारको ३० गते अनुमोदनको लागि संसदमा दर्ता गरायो। त्यो दर्ता गरेको विधेयक प्रस्तावलाई हामीले २०७६ साल पौष १५ गते, जति वेला नेपाली कांग्रेस प्रतिपक्षमा थियो, त्यही वेलामा पनि हामीले संसदमा दर्ता भइरहेको प्रस्तावलाई तत्काल छलफलमा लगेर अनुमोदन गर्नुपर्छ भनेको हो। त्यो वेलाको हाम्रो निर्णयलाई पनि स्मरण गर्दै आज नेपाली कांग्रेसको संसदीय दलले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको मन्त्रिपरिषद्ले यो संसदमा दर्ता गरेको यो प्रस्तावलाई तत्काल संसदमा टेबल गरेर यसलाई अनुमोदनको प्रक्रिया अघि बढाउनुपर्छ भनेर माग गर्ने निर्णय गरेको छ,' महामन्त्री थापाले भने।