नेपाली कांग्रेसको संसदीय दलको बैठकमा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता संसदबाट पास गर्नेबारे छलफल भएको छ। संसदीय दलको बैठकमा एमसिसीबारे प्रस्ट पार्न विज्ञका रूपमा बोलाइएका कांग्रेस नेता डा. रामशरण महतले एमसिसी राष्ट्रहितमा रहेकाले तत्काल पास गर्नुपर्ने भन्दै ब्रिफिङ गरेका हुन्। महतले करिब एक घन्टाको बहसका क्रममा एमसिसी पास नगर्नु राष्ट्रहितविपरीत हुने बताएका थिए। उनले एमसिसी नेपालकै हितमा रहको भन्दै तत्काल पास गर्नुपर्नेमा जोड दिए।
‘एमसिसी संसदबाट अनुमोदन गर्नु एकदमै अत्यावश्यक छ राष्ट्रको हितका लागि। गलत चर्चा गरेर झुटपूर्ण आलोचना गरेर याे रोक्न हुँदैन,’ उनले बैठकको ब्रिफिङ गर्दै भने, ‘यो राष्ट्रहितविपरित पनि हुन्छ ? अमेरिकाजस्तो शक्तिशाली राष्ट्र र नेपाललाई सबैभन्दा बढी सहयोग गर्ने मुलुकसँग सम्बन्ध बिगार्ने काम बिलकुलै गर्नुहुँदैन।’
उनले भोलिबाट सुरु हुने संसद् बैठकमा एमसिसी टेबुल गर्नसमेत सांसदहरूलाई सुझाब दिए। महतले एमसिसी फागुन १६ भित्रै संसदबाट पारित हुनुपर्ने बताए। महत सांसद नरहेकाले विज्ञका रूपमा यसबारे प्रस्ट पार्न उनलाई संसदीय दलको बैठकमा बोलाइएको थियो।