नेपाल उद्योग परिसंघले बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपको ब्याजदर बढाउने निर्णयले थलिएको अर्थतन्त्र झनै जोखिममा पार्ने चिन्ता व्यक्त गरेको छ । कोभिड–१९ लगायत विविध कारणले अर्थतन्त्रमा एकपछि अर्को समस्या देखिइरहेका वेलामा बैंकहरूको ब्याजदर वृद्धिको निर्णय अनपेक्षित रहेको परिसंघको भनाइ छ ।
‘यसले निक्षेपको स्थानान्तरण मात्र हुने र वित्तीय स्थायित्वमा जोखिम बढ्ने हाम्रो बुझाइ छ, यसको प्रत्यक्ष प्रतिकूल असर कोभिडलगायत कारणले समस्यामा परेका उद्योग, कृषि, पर्यटन व्यवसायमा पर्ने निश्चित छ,’ परिसंघले आइतबार विज्ञप्तिमार्फत भनेको छ । ब्याजदर बढ्दा लगानी महँगो भई बजार मूल्य बढ्ने र शिथिल भएका उद्योग–व्यवसाय थप कमजोर बन्ने परिसंघले बताएको छ ।
सरकारी स्वामित्वका ठूला बचतकर्ताहरूको संस्थागत निक्षेपलाई पुरानै ब्याजदरमा कायम राख्दा बजारमा देखापरेको ब्याज बढाउने प्रतिस्पर्धामा केही कमी आउने परिसंघको बुझाइ छ । ‘ब्याजदरलाई स्थिर गर्ने तथा त्यसलाई पारदर्शी बनाउने उद्देश्यले राष्ट्र बैंकले मासिक रूपमा आगामी महिनाको ब्याजदर प्रकाशन गर्ने नियम लागू गरेको छ, यसलाई प्रत्येक तीन महिनामा मात्र ब्याजदर परिवर्तन गर्न पाउने गरी व्यवस्था गर्न परिसंघ अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
विभिन्न उपभोग्य वस्तुहरू आयातमा शतप्रतिशतसम्म मार्जिन राखी प्रतीतपत्र खोल्नुपर्ने राष्ट्र बैंकको व्यवस्थाले आयात संकुचन आई मागअनुसार वस्तुको उपलब्धता नहुने र मुद्रास्फीतिलाई समेत बल पुग्ने परिसंघको ठहर छ ।