कांग्रेस कार्यसम्पादन समिति बैठक : १२ सदस्यले धारणा राखे, बैठक आज पनि निरन्तर

शुक्रबार, २८ माघ, २०७८
डिजिटल संस्करण

बिहीबारबाट सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि निरन्तर हुने भएको छ। बैठकका एजेन्डामाथि छलफल नसकिएकाले बैठक आज पनि निरन्तर हुने भएको हो। कार्यसम्पादन समिति सदस्य बलबहादुर केसीले बैठक आज २ बजे पार्टी कार्यालय सानेपामा बस्न लागेको नयाँ पत्रिकालाई जानकारी दिए।

३७ सदस्यीय कार्यसम्पादन समितिमा १२ सदस्यले आफ्नो धारणा प्रस्तुत गरेका छन्।  बाँकी सदस्यले निरन्तर आज धारणा राख्नेछन्। बिहीबारको बैठकमा धारणा राख्ने अधिकांश सदस्यले एमसिसी छिट्टै संसदबाट पास गर्नुपर्नेमा जोड दिएका थिए।

बैठकमा नौ एजेन्डामाथि छलफल जारी छ । स्थानीय निर्वाचनको तयारीका लागि स्थानीय निर्वाचन मूल तयारी समिति र घोषणापत्र तयारी समिति गठनको प्रस्ताव गरिएको छ । त्यस्तै, संगठन सुदृढीकरण एवं निर्वाचन तयारी केन्द्रित राष्ट्रव्यापी अभियान अघि बढाउने, भ्रातृ एवं शुभेच्छुक संस्थाको विधान स्वीकृत गर्ने, नयाँ भ्रातृ एवं शुभेच्छुक संस्थालाई मान्यता प्रदान गर्ने, महाधिवेशनपछि सम्पन्न गर्ने गरी थाती राखिएका क्रियाशील सदस्यहरूको व्यवस्थापन, नयाँ क्रियाशील सदस्यता वितरण, केन्द्रीय अनुशासन समिति गठन र अधिवेशन हुन बाँकी रहेका जिल्ला, क्षेत्र र पालिकाको अधिवेशनको मिति तय गर्ने बुँदालाई छलफलको एजेन्डा बनाइएको छ ।

सुझावित समाचार