कमल थापाको नेतृत्वमा राष्ट्रिय एकता पार्टी

बिहिबार, २७ माघ, २०७८
डिजिटल संस्करण

राप्रपाका पूर्वअध्यक्ष कमल थापाले ‘राष्ट्रिय एकता पार्टी नेपाल’ नाममा नयाँ पार्टी गठन गर्ने भएका छन् । थापाले १ फागुनमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा आवेदन दिने तय गरेका छन् । 

‘नयाँ पार्टी गठनका लागि फागुन १ गते  निर्वाचन आयोगमा आवेदन दिने करिब करिब तय भएको छ,’ थापाका निकट सहयोगी रहेका राप्रपा केन्द्रीय सदस्य राजाराम बर्तौलाले भने । थापा नेतृत्वको पार्टीमा पूर्वकोषाध्यक्षद्वय चन्द्रबहादुर गुरुङ, उद्धव पौडेल, पूर्वप्रवक्ता सुशील श्रेष्ठसहितका नेता रहनेछन् ।

थापाले हिन्दुराष्ट्रको एजेन्डा बोकेर नयाँ पार्टी गठन गर्न राप्रपा परित्याग गरिसकेका छन् । स्थानीय चुनाव घोषणा भइसकेकोमा फास्टट्रयाकबाट पार्टी दर्ताका लागि थापा समूहले आग्रह गर्ने तयारी गरेको छ । 

थापाले यसबारेमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग पनि कुराकानी गरिसकेको निकटस्थहरूले जानकारी दिएका छन् । 

मंसिरमा सम्पन्न राप्रपा महाधिवेशनमा आफूलाई हराउन पार्टीभित्र हस्तक्षेप गरेको भन्दै थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको चर्काे आलोचना गर्दै आएका छन् । उनले महाधिवेशनमा निर्मलनिवासको हस्तक्षेप छानबिनका लागि दुईपटक राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई चिठी पठाए पनि लिङ्देनले पार्टीमा निर्मलनिवासको नकारात्मक छवि निर्माण हुने गरी छलफल नहुने अडान राख्दै आएका छन् । 

सुझावित समाचार