बलात्कारको उजुरी दिएपछि सांसद बानियाँका आफन्तले धम्की दिएको महिलाको आरोप

बिहिबार, २७ माघ, २०७८
डिजिटल संस्करण

मुगुका सांसद मोहन बानियाँले बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी जुम्लाकी एक महिलालाई बानियाँका आफन्तले धम्की दिएका छन् । आफूलाई चौतर्फी धम्की दिने र प्रलोभन देखाउने काम भइरहेको भन्दै आफू असुरक्षित रहेकोे ती महिलाले बताएकी छिन् । ‘जाहेरी दिएको भोलिपल्ट सांसद बानियाँका ज्वाइँले प्रत्यक्ष भेटेर त्यसको भोलिपल्ट बिहानै १० बजे तपाईंको लिएको २५ लाख रुपैयाँ दिन्छौँ । जाहेरी फिर्ता लिनुस् भनेका थिए,’ ती महिलाले भनिन्, ‘मैले जाहेरी दिइसकेँ । म निकै पीडित छु । अब जाहेरी फिर्ता हुँदैन । जे गर्छ कानुनले गर्छ ।’ जाहेरी फिर्ता लिन आग्रह गर्दै मोहन बानियाँकी छोरीले फोन गरेर प्रलोभन देखाएको पनि उनले बताइन् ।

मोहन बानियाँको छोराले जाहेरी दिएको दिनमै उनलाई जाहेरीले कुनै असर नपर्ने भन्दै धम्की दिएका थिए । पीडित महिलाले थपिन्, ‘म जाहेरी बोकेर जिप्रका जाँदै थिएँ । बाँनियाका छोराले मैले जाहेरी दिँदैमा कुनै असर नपर्ने र यस्ता करणी घटना कैयौँ व्यहाेरिसकेकाले जाहेरी दिनुको कुनै तुक नभएको भन्दै धम्की दिए,’ ती महिलाले भनिन्। बानियाँका आफन्तजनले पटकपटक फोन गरेर वा प्रत्यक्ष भेटेर धम्की दिइरहेको ती महिलाले बताइन् । 

पटक–पटक लिएको पैसा फिर्ता गर्न आग्रह गरेपछि सांसद बानियाँले २५ लाख रुपैयाँको चेक काटेका थिए । राष्ट्रिय वाणिज्य बैंकको चेकमा रहेको खातामा पैसा नभएपछि चेक बाउन्स भएको छ । त्यही बाउन्स भएको चेकसमेत बानियाँका आफन्तसहितको टोलीले खोसेको ती महिलाले बताइन् । जाहेरीमा महिलाले सांसद बानियाँले नेपालगन्जस्थित अप्सरा होटेलमा बलात्कार गरेको खुलाएकी छिन् । उनले भनिन्, ‘बानियाँले लिएको रकम फिर्ता गर्ने भन्दै बोलाएर बलात्कार गरे ।’

सुझावित समाचार