सेयर बजार लगातार घटेको छ । बुधबार पनि नेप्सेमा करेक्सन आएको हो । बजार निरन्तर घटेपछि लगानीकर्ता प्रोफिट बुक गर्दै ‘पर्ख र हेर’को नीतिमा रहेका छन् । यसले पनि बजारमा निरन्तर करेक्सन आएको हो । चुनावको मिति घोषणापछि बजार बढ्ने अपेक्षामा रहेका लगानीकर्ता गिरावट आएसँगै साना किसिमका लगानीकर्ता प्रोफिट बुक र ठूला लगानीकर्ता पर्ख र हेरको नीतिमा रहेका छन् । यसले पनि बजार माथि उठ्न नसकेको हो । उत्तार–चढावका बीच नेप्से सूचक २२ दशमलव शून्य ६ अंकले घटेर दुई हजार आठ सय १३ दशमलव ५२ बिन्दुमा आइपुगेको छ । त्यस्तै, ‘क’ वर्गको कम्पनी मापक सेन्सेटिभ इन्डेक्स ३ दशमलव ५१ अंकले घटेर पाँच सय २९ बिन्दुमा पुगेको छ ।
कारोबारमा आएका १३ वटै समूहको सूचक घटेको छ । सबै समूहको सूचक सामान्य एक प्रतिशतले घटेको छ । जसमा २० वटा स्क्रिप्टको सेयर मूल्य बढेको छ भने एक सय ६५ वटा स्क्रिप्टको सेयर मूल्य घटेको छ ।बजारमा आएको गिरावटसँगै कारोबार रकममा पनि कमी आएको छ । धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय २३ स्क्रिप्टको ६५ लाख कित्ता÷इकाइ सेयर खरिद–बिक्री हुँदा करिब साढे तीन करोड रुपैयाँको कारोबार भएको छ । धेरै कारोबार हुनेमा अरुण भ्याली हाइड्रोपावर, नेपाल दूरसञ्चार कम्पनी, नेसनल हाइड्रोपावर कम्पनी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी रहेका छन् । यी कम्पनीको ११ करोड रुपैयाँदेखि १८ करोड ६१ लाख रुपैयाँसम्मको कारोबार भएको छ ।
एसबिआई बैंकको ऋणपत्र, नेपाल हाइड्रो डेभलपर, सप्तकोसी डेभलपमेन्ट बैंक, विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य तीन प्रतिशतदेखि करिब सात प्रतिशतसम्मले घटेको छ । घटेको बजारमा लिबर्टी इनर्जी कम्पनी, आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था, जनउत्थान लघुवित्त वित्तीय संस्था, लाइफ इन्स्योरेन्स कम्पनी नेपाल र मैलुङ खोला जलविद्युत् कम्पनीको सेयर मूल्य दुई प्रतिशतदेखि तीन प्रतिशतसम्मले बढेको छ ।
रावा इनर्जीले आइपिओ निष्कासन गर्ने
रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणलाई आइपिओ जारी गर्ने भएको छ । कम्पनीले हाल कायम जारी पूँजी २० करोडमध्ये स्थानीयका लागि १० प्रतिशतबापत दुई करोड रकमबराबरको दुई लाख कित्ता तथा सर्वसाधारण, कर्मचारी तथा सामूहिक लगानी कोषका लागि एक करोड ९९ लाख रुपैयाँबराबरको एक लाख ९९ हजार कित्ता गरी कुल तीन लाख ९९ हजार कित्ता साधारण सेयर सर्वसाधारणमा निष्कासन गर्न लागेको हो । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।