मंगलबार लगानीकर्ता निराश बनेका छन् । स्थानीय तह चुनावको मिति तोकिने प्रतीक्षामा रहेका लगानीकर्ता चुनावको मिति तोकिएपछि पनि बजार ओरालो लाग्दा निराश बनेका हुन् । सरकारले सोमबार चुनावको मिति तोकेसँगै बजार बढ्ने अपेक्षामा रहेका लगानीकर्ताको अपेक्षाविपरीत बजारमा गिरावट आएको हो । सुरुवातमा उत्साहले बढे पनि लगानीकर्ता प्रोफिट बुक गर्न केन्द्रित हुँदा नेप्सेमा दबाब रहेको थियो । बजार फर्किने प्रयासमा देखिए पनि लगानीकर्ताले आत्तिएर प्रोफिट बुक गरेका थिए । पछिल्लो समय लगानीकर्ताले सामान्य बढेको बजारमा पनि आत्तिएर प्रोफिट बुकको नीति अपनाइरहेका छन् ।
मंगलबार उत्तारचढावका बीच नेप्से सूचक दोहोरो अंक १६ दशमलव ३० अंकले घटेर दुई हजार आठ सय ३५ दशमलव ५८ बिन्दुमा पुगेको छ । त्यस्तै, ‘क’ वर्गको कम्पनीमापक सेन्सेटिभ इन्डेक्स दुई दशमलव ८२ अंकले घटेर दुई हजार पाँच सय ३२ दशमलव ४९ बिन्दुमा पुगेको छ । धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय ३० स्क्रिप्टका एक करोड २० कित्ता–इकाइ सेयर किनबेच हुँदा ६ अर्ब २८ करोड रुपैयाँको कारोबार भएको छ ।
कारोबारमा आएका १३ वटा समूहका सूचकमध्ये पाँच समूहका सूचक सकारात्मक रहेका छन् । निर्जीवन बिमा समूह, म्युचुअल फन्ड समूह, उत्पादनगत समूह, होटेल तथा पर्यटन समूह, ट्रेडिङ समूहको सूचक सामान्य बढ्दा लगानीगत समूह, जलविद्युत् समूह, फाइनान्स समूह, माइक्रो फाइनान्स समूहका लगानीकर्ता निराश बनेका छन् ।
यस दिन ४० वटा स्क्रिप्टको मूल्य बढेको छ भने एक सय ४० वटा स्क्रिप्टको मूल्य घटेको छ । जसमा लिबर्टी इनर्जी कम्पनी, नेपाल हाइड्रो डेभलपर लिमिटेड, बोटलर्स नेपाल तराई लिमिटेड, युनिभर्सल पावर कम्पनी, तेह्रथुम पावर कम्पनीको सेयर मूल्य ३ प्रतिशतदेखि करिब ७ प्रतिशतसम्मले घटेको छ । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट मूल्यमा कारोबार भएको छ । अघिल्लो दुई दिनको कारोबारमा मूल्य घटे पनि मंगलबार पुनः कम्पनीको सेयर मूल्यमा उत्साह देखिएको हो । नेपाल इन्स्योरेन्स कम्पनी, राष्ट्रिय बिमा कम्पनी, विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य २ प्रतिशतलेखि करिब ४ प्रतिशतले बढेको छ ।
अरुण भ्याली हाइड्रोपावर कम्पनी, अपि पावर कम्पनी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, अपर तामाकोसी हाइड्रोपावर कम्पनी, हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीको सेयर सबैभन्दा धेरै ३० करोड रुपैयाँदेखि ३५ करोड ८५ लाख रुपैयाँसम्मको कारोबार भएको छ ।
सेयर गतिविधि
पु्रडेन्सियल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र शून्य दशमलव ३६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।
इमर्जिङ नेपाल लिमिटेडले माघ २६ गतेदेखि आइपिओ निष्कासन खुला गरेको छ । कम्पनीले पाँच करोड ५५ लाख मूल्यबराबरको पाँच लाख ५५ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो । जसमा ११ हजार कित्ता सेयर कर्मचारीका लागि, २७ हजार सात सय कित्ता सेयर सामूहिक लगानी कोष छुट्याएर बाँकी रहेको पाँच लाख १६ हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको कम्पनीले जनाएको छ । निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल रहेको छ ।