काठमाडौं महानगरपालिकाले बागमती र विष्णुमती नदी किनारमा मात्रै करिब १७ वटा पार्क निर्माणको कार्य अघि बढाएको छ । वडा– १७ मा इन्द्रायणी गुरुयोजनाअन्तर्गत इन्द्रायणी पार्कको शिलान्यास गर्दै काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले यस्तो जानकारी दिएका हुन्। ‘काठमाडौं महानगरपालिकामा जनप्रतिनिधिहरू निर्वाचित भएर आएपछि हामीले सार्वजनिक जग्गा संरक्षण गर्ने, हरियाली प्रवर्द्धन गर्ने, पार्कहरूको निर्माण गर्ने योजना अघि बढाएका छौँ,’ प्रमुख शाक्यले भने, ‘नदी किनारका जग्गालाई संरक्षण गरेर हरियाली कायम गर्नेजस्ता योजना पनि हामीले अघि बढाएका छौँ ।’
प्रमुख शाक्यले सोही योजनाअनुसार कालीमाटी दोभानदेखि बालाजुसम्मको विष्णुमती किनारलाई हरियाली कायम गर्न इन्द्रायणी पार्कको शिलान्यास गरेको बताए। प्रमुख शाक्यले सार्वजनिक जग्गा संरक्षण, हरियाली प्रवर्द्धन तथा पार्क निर्माण कार्यलाई नीति, बजेट तथा कार्यक्रममा समेत प्राथमिकता दिएको बताए। ‘सार्वजनिक जग्गाको संरक्षण गर्ने, हरियाली कायम गर्ने र स्थानीयहरूको अपनत्व रहने गरी उहाँहरूलाई नै संरक्षणको जिम्मा दिने नीतिअनुसार हामीले एक वडा कम्तीमा एक पार्क निर्माणको अभियान अघि बढाएका हौँ,’ उनले भने, ‘जहाँ–जहाँ सार्जजनिक जमिन छ, त्यहाँ–त्यहाँ त्यो जग्गाको संरक्षण गर्दै साना–ठूला पार्क बनाउँदै आएका छौँ ।’
उनले काठमाडौं आधुनिक र परम्परागत सांस्कृतिक विशेषता भएको सहर भएको भन्दै त्यसको पहिचान जोगाउनुपर्ने चुनौती रहेको पनि बताए। ‘काठमाडौंको विशेषता अन्य जिल्लाको भन्दा फरक छ । भित्री सहर सम्पदा नै सम्पदा, मन्दिर नै मन्दिर, देवता नै देवताले भरिएको छ,’ शाक्यले भने, ‘त्यसपछि नयाँ विकास भएको सहर पनि यही महानगरपालिकाभित्र छ । यी दुईलाई आधार बनाएर हामीले यहाँको विकासका लागि नीति बनाउनुपर्छ र त्यसैअनुरूप गर्दै आएका छौँ ।’
प्रमुख शाक्यले निर्माणाधीन पार्कमा चौतारा, परम्परागत ढुंगेधारा, शौचालय र खुला व्यायामशाला रहने रहने भन्दै पार्क निर्माणसँगै ज्येष्ठ नागरिक, बालबालिका, अपांगता भएका सबैका लागि मनोरञ्जन गर्ने र आनन्द लिने ठाउँ हुनेमा आशावादी रहेको बताए। महानगरले साना–ठूला गरी काठमाडौं महानगरपालिका क्षेत्रभित्र ५० भन्दा बढी पार्क निर्माण भइरहेको जानकारी दिएको छ ।