वीर अस्पतालको कोभिडजन्य संक्रामक फोहोर असुरक्षित रूपमै उठाउन सफाइकर्मी बाध्य

मंगलबार, २५ माघ, २०७८
डिजिटल संस्करण

अस्पतालले कोभिड वार्डबाट निस्किने फोहोर मापदण्डअनुसार वर्गीकरण नगरी थुपार्ने गरेको छ र सफाइकर्मी स्वास्थ्य सुरक्षाका साधनको प्रयोगविना उठाउन बाध्य छन् 

- सरकारको निर्णयविपरीत कोभिडजन्य संक्रामक फोहोर बिक्री

- निर्मलीकरण नगरी चोकचोकमै संक्रमणजन्य फोहोर

वीर अस्पतालको कोभिड वार्डबाट निस्किएको फोहोर असुरक्षित रूपमा संकलन गर्दै सफाइकर्मी

तीन दिनदेखि लगातार परेको पानीका कारण उठ्न नसकेको वीर अस्पतालको फोहोर आइतबार बेलुका सफाइकर्मीहरू गाडीमा भर्दै थिए । फोहोर उठाएर सिसडोल पु¥याउनुपर्ने हतारोमा रहेका संकलकहरूको मुखमा न मास्क थियो न फेससिल्ड । 

अस्पतालका सफाइकर्मीका अनुसार तीन दिनदेखि थुपारिएको फोहोर कोभिड वार्डबाट निकालिएको हो । तर, संक्रामक फोहोर संकलन गर्दा संक्रमण हुन सक्ने जोखिमलाई अस्पताल र फोहोर उठाउने जिम्मा लिएको कम्पनीले बेवास्ता गर्दा सफाइकर्मी असुरक्षित अवस्थामै काम गर्न बाध्य भएका हुन् । वीरको मेडिकलजन्य फोहोर हातेमालो क्लिन सिटी प्रालिले उठाउँदै आएको छ । 

जीवाणुविज्ञ डा. सन्तोष दुलाल
संक्रमितले प्रयोग गरेका मास्क र अन्य मेडिकलजन्य वस्तुको सम्पर्कबाट संक्रमण सजिलै अर्को व्यक्तिमा सर्न सक्छ । भाइरसको संक्रामकदर अनुसार विभिन्न वस्तुमा जीवित रहन सक्ने भएकाले निर्मलीकरण गर्नुपर्ने हुन्छ । कोभिडजन्य फोहोरबाट त झन् संक्रमण सजिलै फैलिन सक्छ । कोभिड वार्डबाट निस्कने फोहोर अनिवार्य अटोक्लेभ गर्नुपर्छ, यसमा अस्पतालहरूले बेवास्ता गर्न मिल्दैन ।

सुरुमा अस्पतालले नै ‘कोभिड– १९ महामारी आपत्कालीन स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन अन्तरिम निर्देशिका– २०७७’ ले तोकेको मापदण्ड उल्लंघन गरेको छ । नकुहिने, कुहिने, प्याथालोजिकल (साल, ट्युमर), धारिलो वस्तु, अन्य संक्रामक (कपास, गज, ब्लड ब्यागलगायत) र प्रयोग गरिएका व्यक्तिगत सुरक्षा सामग्री गरी संक्रमित फोहोर ६ किसिमले वर्गीकरण गर्नुपर्ने निर्देशिकाले प्रस्ट भनेको छ । फोहोरलाई जैविक खतरा लेखिएको झोलामा सुरक्षित राख्नुपर्छ  । नकुहिने कागज, प्लास्टिक, बोतल, धातुलगायतलाई अटोक्लेभ (भाँडोमा राखेर निर्मलीकरण गर्ने) गर्नुपर्छ । सुई अनिवार्य रूपमा काट्ने मेसिन प्रयोग गरेर अटोक्लेभ वा क्लोरिनको झोलमा डुबाएर खाल्टोमा फाल्नुपर्छ  । अति संक्रमित फोहोरमैलाको व्यवस्थापन २४ घन्टाभित्रमा गरिसक्न निर्देशिकाले निर्देश गरेको छ । तर, वीरले कोभिड वार्डबाट निस्केको फोहोर अन्य मेडिकलजन्य फोहोरसँगै थुपार्ने गरेको छ । 

अस्पतालकी फोहोर व्यवस्थापन शाखा प्रमुख राधा आचार्य भने सरसफाइकर्मीलाई दोष दिन्छिन् । ‘हामीले वार्डबाट निस्कने फोहोर अटोक्लेभ गरेर नै बाहिर पठाउने गरेका छौँ । अस्पतालमा माइक्रोवेभ नभएका कारण सिरिन्जलाई छुट्याएर अन्य फोहोर मात्रै बाहिर भण्डारण गर्ने गरेका छौँ । कहिलेकाहीँ सरसफाइकर्मीको गल्तीले निर्मलीकरण नगरी फोहोर बाहिर ल्याएको हुन सक्छ ।’ 

अस्पतालले गरेको लापरबाहीमाथि अर्को लापरबाही फोहोर व्यवस्थापन गर्ने कम्पनीले गरेको छ । फोहोरमैला व्यवस्थापनमा संलग्न व्यक्तिहरू फोहोरमैला व्यवस्थापनसम्बन्धी आवश्यक तालिमप्राप्त हुनुपर्ने निर्देशिकामा उल्लेख छ । उनीहरूले सुरक्षा सामग्रीहरू बुट, लामो बाहुला भएको गाउन, मोटो÷बलियो पन्जा, मास्क, चस्मा वा फेससिल्ड लगाउनुपर्ने, यस्ता सामग्री लगाउनुअघि वा लगाइसकेपछि मापदण्डअनुसार हात धुनुपर्ने निर्देशिकामा प्रस्ट छ । तर, वीरको फोहोर उठाउँदै गरेको सफाइकर्मी यस्ता सामग्रीविना नै काममा खटिएका छन् । 

निर्देशिकाले सफाइकर्मी टिटानस, हेपाटाइटिस खोप लगाएको हुनुपर्ने, फोहोर व्यवस्थापनको समयमा प्रयोग गरिएका कपडा, पिपिई निर्मलीकरण गर्नुपर्ने व्यवस्था गरे पनि पन्जासमेत फेर्न नपाएको सफाइकर्मीको गुनासो छ । ‘दिनदिनै पन्जा फेर्न त कहाँ सम्भव छ र ? पिपिई सुरुसुरुमा लगाइयो, अब त कोभिड संक्रमण पनि हुँदैन,’ पन्जा र मास्कविनै फोहोर उठाइरहेका एक संकलकले भने । 

जीवाणुविज्ञ डा. सन्तोष दुलालका अनुसार संक्रमितले प्रयोग गरेका मास्क र अन्य मेडिकलजन्य वस्तुको सम्पर्कबाट संक्रमण सजिलै अर्को व्यक्तिमा सर्न सक्छ । भाइरसको संक्रामकदरअनुसार विभिन्न वस्तुमा जीवित रहन सक्ने भएकाले निर्मलीकरण गर्नुपर्ने उनी बताउँछन् । ‘कोभिडजन्य फोहोरबाट त झन् संक्रमण सजिलै फैलिन सक्छ,’ उनी भन्छन्, ‘कोभिड वार्डबाट निस्कने फोहोर अनिवार्य अटोक्लेभ गर्नुपर्छ, यसमा अस्पतालहरूले बेवास्ता गर्न मिल्दैन ।’ 

See More On

सुझावित समाचार