मर्स्याङ्दीमा ‘ग’ वर्गका अपांगता भएकालाई मासिक पाँच सय भत्ता

आइतबार, २३ माघ, २०७८
डिजिटल संस्करण
मर्स्याङ्दीमा ‘ग’ वर्गका अपांगता भएकालाई मासिक पाँच सय भत्ता

फाइल तस्बिर

लमजुङको मर्स्याङ्दी गाउँपालिकाले सामाजिक सुरक्षा भत्ताको दायरा बढाएको छ । गाउँ कार्यपालिकाको ९२औँ बैठकले पालिकाभित्रका ‘ग’ वर्गका अपांगता भएका व्यक्तिलाई विशेष सेवा सुविधा दिने निर्णय गरेको हो । 

गाउँ कार्यपालिका बैठकले यही माघ महिनादेखि लागू हुने गरी पालिकाअन्तर्गत ‘ग’ वर्गका अपांगता भएका व्यक्तिहरूलाई मासिक पाँच सय रुपैयाँ सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको हो । ‘क’ र ‘ख’ वर्गका अपांगता भएका व्यक्तिहरूलाई संघ सरकारले नै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको तर, ‘ग’ वर्गमा पर्नेहरूले मासिक भत्ता नपाउने भएकाले पालिकाले मासिक रूपमा भत्ता उपलब्ध गराउने निर्णय गरेको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए । ‘ग’ र ‘घ’ वर्गका अपांगता भएकाले सेवा सुविधाबाट वञ्चित भएको गुनासो गरेपछि कार्यपालिकाको बैठकले तत्कालका लागि ‘ग’ वर्गलाई मासिक रूपमा पाँच सय रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको गाउँपालिका अध्यक्ष गुरुङको भनाइ छ । 

अपांगता अधिकार ऐन, २०७४ अनुसार सबै स्थानीय तहलाई अपांगता परिचयपत्र वितरण गर्न दिएको अधिकारअन्तर्गत गाउँपालिकाले परिचयपत्र वितरण गर्दै आएका छन्। अपांगता भएकाहरूको स्तर र गम्भीरता पहिचान गरी परिचयपत्र वितरण गरिरहेको र सोहीबमोजिम सामाजिक सुरक्षा भत्ताको व्यवस्थापन गरिने अध्यक्ष गुरुङको भनाइ छ । 

सम्बन्धित निकायबाट ‘क’ वर्ग अर्थात् रातो रङकोे अपांगता परिचयपत्र प्राप्त गरेका जुनसुकै उमेरका नागरिकहरूले सरकारबाट मासिक तीन हजार रुपैयाँ भत्ता पाउँदै आएका छन् । यस्तै सम्बन्धित निकायबाट ‘ख’ वर्ग अर्थात् निलो रङको अपांगता परिचयपत्र पाएका जुनसुकै नागरिकहरूले सरकारको तर्फबाट मासिक एक हजार छ सय रुपैयाँ सामाजिक सुरक्षा भत्ता पाउँदै आएका छन् । 

सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश,०७८ अनुसार अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी प्रचलित संघीय कानुनबमोजिम पूर्ण अशक्त अपांगता वा आंशिक अपांगताको परिचयपत्र प्राप्त गरेका नागरिकलाई सोहीबमोजिम सामाजिक सुरक्षा भत्ताको रूपमा नेपाल सरकारले तोकिएबमोजिमको भत्ता रकम उपलब्ध गराउँदै आएको छ । 

सुझावित समाचार