७५% जनसंख्यामा नेपाल टेलिकमको पहुँच

आइतबार, २३ माघ, २०७८
डिजिटल संस्करण

नेपालको ७५ प्रतिशत जनसंख्यामा नेपाल टेलिकमको पहुँच पुगेको छ । कम्पनीका अनुसार ०७८ मंसिरसम्म कम्पनीको ग्राहक संख्या दुई करोड २७ लाख नाघिसकेको छ । कोभिडबाट सिर्जना भएको असहज परिस्थितिका बाबजुद पनि आर्थिक वर्ष ०७७/७८ मा कम्पनीको कुल आय ४२ अर्ब २१ करोड रुपैयाँ पुगेको कम्पनीले जनाएको छ । सो अवधिमा कम्पनीको खुद मुनाफा सात अर्ब १३ करोड भएको छ । चालू आवको पुस मसान्तसम्म कम्पनीले २१ अर्ब ४३ करोड राजस्व प्राप्त गरेको छ । जुन गत आवको पहिलो अर्धवार्षिक अवधिको तुलनामा ५.७५ प्रतिशतले वृद्धि भएको हो । 

इन्टरनेट डेटा सेवाग्राही ०७८ मंसिरसम्म कुल दुई करोड २० लाख ९७ हजारभन्दा बढी पुगेका छन् । सोमध्ये जिएसएम मोबाइलको डेटा सेवाका प्रयोगकर्ता दुई करोड १६ लाख ४५ हजार, एडिएसएल सेवाका प्रयोगकर्ता एक लाख ३१ हजार सात सय पुगेको कम्पनीले जनाएको छ । 

त्यस्तै, मध्य पहाडी लोकमार्गलाई आधार मानी प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशका जिल्ला, नगरपालिका र गाउँपालिका समेट्ने गरी अप्टिकल फाइबर बिछ्याउने कार्य द्रुत गतिमा अघि बढाइएको कम्पनीले जनाएको छ । सो क्षेत्रमा हालसम्म ११ सय १२ किमि (५९.१६%) कार्य सम्पन्न भएको, २६ स्थानमा डिडब्लुडिएम सिस्टम जडान भई २४ स्थानमा सञ्चालनमा ल्याइसकेको तथा सम्पूर्ण ४७ स्थानमा कोर राउटर जडान कार्य सम्पन्न भइसकेको कम्पनीले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशअन्तर्गत पर्ने मध्य पहाडी लोकमार्गमा समेत अप्टिकल फाइबर बिछ्याउने गरी हालै सम्झौता भएको छ । 

फाइभजीको परीक्षण सुरु गर्न निर्देशन
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले फाइभजी परीक्षण तत्काल सुरु गर्न नेपाल टेलिकम कम्पनीलाई निर्देशन दिएका छन् । कम्पनीको १८औँ वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले दूरसञ्चार प्राधिकरणबाट सञ्चालन अनुमति पाइसकेका कम्पनीलाई तत्काल सेवा सुरु गर्न निर्देशन दिएका हुन् ।

त्यस्तै, राष्ट्रिय गौरवको एलटिई प्रविधिको फोरजी आयोजना र मध्यपहाडी राजमार्गमा अप्टिकल फाइबर बिछ्याई सूचना महामार्ग निर्माण कार्य निर्धारित समयमा नै सम्पन्न गर्न पनि उनले निर्देशन दिएका छन् । नेपाल टेलिकमले फाइभजी सेवा परीक्षणका लागि आपूर्तिकर्ताहरूसँग समन्वय गरिरहेको कम्पनीकी निमित्त प्रबन्ध निर्देशक प्रतिभा वैद्यले बताएकी छिन् । 

सुझावित समाचार