ओखलढुंगामा सामाजिक सुरक्षा भत्ता बैंकमार्फत वितरण गर्ने प्रणाली पारदर्शी भए पनि सेवाग्राहीका लागि कष्टकर बनेको छ । जनप्रतिनिधि र वडाका कर्मचारीमार्फत घरैमा बसेर भत्ता बुझ्दै आएका जिल्लाका लक्षित वर्गका लाभग्राहीलाई बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण हुन थालेपछि बैंकसम्म पुग्न, बैंकिङ प्रणालीका कागजी प्रक्रिया मिलाउन र भत्ता बुझ्न सास्ती हुन थालेको हो ।
सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता हुन थालेपछि बैंकिङ प्रणाली अपनाउने सरकारी लक्ष्यअनुसार जिल्लाका सबै ८ वटै स्थानीय तहले चालू आर्थिक वर्षबाट सामाजिक सुरक्षा भत्ता वितरणमा बैंकिङ प्रणाली अपनाएका छन् । सामाजिक सुरक्षा भत्ताका लागि बैंक खाता खोल्न र भुक्तानीका लागि अनिवार्य आफैँ बैंक पुग्नुपर्ने र बैंकमा कागजी प्रक्रिया पनि आफैँले मिलाउनुपर्ने भए पनि ज्येष्ठ नागरिक, एकल महिला र अपांगता भएका व्यक्तिले सास्ती भोग्नुपरेको छ । अझ साहारा कोही नहुने र आफैं हिँडडुलसमेत गर्न नसक्ने अशक्त, अपांगले बिचौलिया खोज्नुपर्ने बाध्यता सुरु भएको छ । बैंक पुग्न अनेकौं कष्ट व्यहोरेका सेवाग्राही बैंकमा पु–याउनुपर्ने प्रक्रियामा अभ्यस्त छैनन् ।
बैंक खाता अनिवार्य गरेपछि बैंकसम्म पुग्न भौगोलिक कठिनाइले सकस हुने गरेको लाभग्राहीहरूको गुनासो छ । जिल्लाका सबै स्थानीय तहको केन्द्रमा बैंक स्थापना भएका छन् । बैंकहरूले सामाजिक सुरक्षा भत्ता लिने सेवाग्राहीको सहजताका लागि छुट्टै व्यवस्था गरेका छैनन् । पालिकाहरूले पालिकाभित्रैका बैंकमार्फत भत्ता वितरण गर्ने नीति ल्याए पनि पालिकाको केन्द्र पुग्न दिनभर हिँड्नुपर्ने वा महँगो रकम तिरेर सवारी रिजर्भ गर्नुपर्ने बाध्यता छ ।
अधिकांश सामाजिक सुरक्षा भत्ता लिने उमेर समूहका मानिस अरूको सहारा लिनुपर्ने अवस्थाका छन् । परिवारका सदस्य वा छिमेकीको सहारा लिने लाभग्राहीले बुझेको भत्ताको केही प्रतिशत सहयोग गर्नेलाई दिने गरेका छन् । नियमित सवारी नचल्ने भएकाले रिजर्भ गर्दा भाडा महँगो हुने अझ आवतजावत र अन्य खर्चसमेत स्वयं लाभग्राहीले व्यहोर्नुपर्ने भएपछि भत्ताबापत आउने रकम आधाभन्दा बढी खर्च भइसक्ने समस्या छ ।
जिल्लाको मानेभञ्ज्याङ ९ माधवपुरकी चन्द्रकुमारी बस्नेत ७७ वर्ष पुगिन् । ढल्किँदो उमेर, वृद्धावस्था र खुट्टा दुख्ने समस्याले उनी राम्रोसँग हिँडडुल गर्न सक्दिनन् । विगतमा घरैमा भत्ता बुझ्ने उनलाई अहिले सरकारले दिने वृद्धभत्ता लिन पालिकाको केन्द्र मानेभञ्ज्याङ बजार पुग्नुपर्छ । बैंकसम्म पुगेर भत्ता लिन गाह्रो भएको उनको दुखेसो छ । ‘सधैँ गाडी पाइँदैन, हिँडेर जान पनि गोडा दुखेर सक्दिनँ ।’ उनले भनिन् ‘सरकारले के नियम लाइदियो जसरी नि बैंकसम्म आफैँ नपुगी नहुनेरहेछ । हैरानी पनि धेरै भयो, झिकेको पैसा पनि जस्तो आयो, त्यस्तै जाने भयो ।’ बस्नेतजस्तै मानेभञ्ज्याङका अरू लाभग्राहीले पनि अनेक कष्ट गरेर अहिले पालिकाको केन्द्रमा रहेको राष्ट्रिय वाणिज्य बैंकबाट सामाजिक सुरक्षा भत्ता बुझ्न थालेका छन् ।
सिद्धिचरण नगरपालिका ४ का भेषनाथ दाहाल पूर्ण अपांगता भएर थलिएका कारण घरबाहिर कतै हिँडडुल गर्न सक्दैनन् । उनलाई बैंकसम्म पुगेर भत्ता बुझ्न सजिलो छैन । जिल्लामा उनको जस्तो समस्या भएका धेरै लाभग्राही छन् । खिजिदेम्बा गाउँपालिका ३ की मोहनकुमारी सुनुवार सामाजिक सुरक्षा भत्ता लिन ३ घन्टा हिँडेर खिजिफलाटेको मेगा बैंकमा पुग्छिन् । घरमा एक्लै उनी बिहान भत्ता लिन घरबाट हिँडेर एकैपटक साँझ फर्किन्छिन् । ‘घरमा कोही छैनन् एक्लै छु । बैंकसम्म पुगेर घर फर्किँदा झमक्कै साँझ पर्छ । हिँडेर गयो पुगेर लिएर आइहाल्न पाए त हुन्थ्यो नि पालो कुर्दाको हैरान हुन्छ । पहिलेजस्तो घरमै पाए कति सजिलो हुन्थ्यो’ उनले भनिन् ।
मोहनकुमारीजस्तै खिजीदेम्बाकै आङपुटी शेर्पा भन्छिन् ‘एक्कासि यस्तो नियम आयो, धेरै दुःख पायो, घरघरमै ल्याएर दिँदा धेरै सजिलो थियो ।’ सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितताबारे जानकारी नपाएका लाभग्राहीको बुझाइ आफूहरूलाई दुःख दिन मात्रै बैंक धाउन लगाएको भन्ने छ । जिल्लाका अधिकांश ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीबाट लिन निकै झन्झटिलो भएको बताएका छन् । सामाजिक सुरक्षा भत्ता लिन बैंकमा पुग्ने कतिपय ज्येष्ठ नागरिकहरूले घन्टौँ पालो कुर्नुपर्ने, बैंकका कर्मचारीको व्यवहार राम्रो नभएको बताउँछन् ।