चेपे खोलाको बिजुली चैतमा राष्ट्रिय प्रणालीमा जोडिने

शनिबार, १५ माघ, २०७८
डिजिटल संस्करण

लमजुङ र गोरखाको सिमानामा निर्माणाधीन ८.६ मेगावाटको चेपेखोला साना जलविद्युत् आयोजनाको विद्युत् चैतमा राष्ट्रिय प्रणालीमा जोडिने भएको छ। निर्माण सुरु भएको १४ महिनामा आयोजनाको ८० प्रतिशत काम पूरा भएको आयोजनाका प्रवर्द्धक आशुतोष इनर्जी कम्पनीका अध्यक्ष मोहनविक्रम कार्कीले बताए।

कार्कीका अनुसार हाल आयोजनाको बाँध क्षेत्रको ९८ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ। सुरुको तालिकाअनुसार आयोजनाबाट २०७८ माघ ९ गतेदेखि विद्युत् उत्पादन थाल्नुपर्ने हो। तर, सरकारले कोभिड–१९ महामारीका कारण निर्माण प्रभावित भएका आयोजनाको एक वर्ष म्याद थप गरेपछि यस आयोजनाले पनि चार महिनाको थप समय पाएको छ। विद्युत् उत्पादनका लागि सुरुको लक्ष्यभन्दा चार महिना समय थप गरे पनि त्यसअगावै प्रणालीमा जोड्ने गरी काम गरिरहेको कम्पनीले जनाएको छ। थपिएको समयअनुसार २०७९ असार ९ गतेभित्र आयोजनाबाट उत्पादन सुरु गर्नुपर्ने भए पनि यो वर्षको चैतभित्र नै आयोजना सञ्चालनमा ल्याइने कार्कीले बताए।

आयोजना सम्पन्न भई उत्पादन हुने विद्युत् १३२ केभी दोर्दी करिडोर प्रसारण लाइनको कीर्तिपुर सबस्टेसनमा जोडिनेछ। विद्युत्गृहदेखि सबस्टेसनसम्म आवश्यक पर्ने २१ किलोमिटर प्रसारण लाइन कम्पनीले निर्माण गरिरहेको छ। लाइनको काम पनि अन्तिम चरणमा पुगेको छ। आयोजना सम्पन्न गर्न एक अर्ब ५० करोड रुपैयाँ लागत अनुमान गरिएको छ। कुल लागतको ७५ प्रतिशत हुन आउने एक अर्ब १२ करोड ५० लाख रुपैयाँ एनएमबि बैंक एक्लैले लगानी गरेको छ।

आयोजनाबाट वार्षिक ५१.५७ गिगावाट घन्टा (पाँच करोड १५ लाख ७० हजार युनिट) विद्युत् उत्पादन हुनेछ। आयोजनाको तीन हजार ४५५ मिटर लामो पाइपलाइनमा एक हजार ७५५ मिटर पाइप बिछ्याउने काम सकिएको छ। २०७७ कात्तिकदेखि आयोजनास्थलमा संरचना निर्माणको काम सुरु गरिएको थियो।
 

सुझावित समाचार