- विद्युतीय सवारीसाधन आयात गर्दा क्षमताअनुसार १० देखि ४० प्रतिशतसम्म भन्सार तिरे पुग्छ, तर पेट्रोलियम गाडीको आयातमा भन्सार, अन्तःशुल्कलगायत शीर्षकमा दुई सय प्रतिशतसम्म कर तिर्नुपर्ने व्यवस्था
- पेट्रोलियम सवारी आयातका लागि एलसी खोल्दा ५० प्रतिशत पुँजी आफैँले जोहो गर्नुपर्ने व्यवस्था छ, तर विद्युतीय गाडी आयातमा १० प्रतिशत मात्र नगद जम्मा गरे पुग्छ
सरकारले विद्युतीय सवारीसाधनको प्रयोगलाई बढावा दिने नीति लिएसँगै नेपालमा ब्याट्रीबाट चल्ने गाडीको माग बढेको छ । चालू आर्थिक वर्ष ०७८÷७९ को ६ महिनामा विभिन्न मुलुकबाट सवा तीन अर्ब रुपैयाँ मूल्यबराबरका ११ सयभन्दा बढी विद्युतीय सवारीसाधन भित्रिएका छन् । विद्युतीय गाडीको आयातमा भन्सार छुट, अन्तःशुल्क खारेजदेखि बैंक ऋणसम्म सुविधाहरू उपलब्ध भएका कारण पनि उपभोक्ताको आकर्षण बढेको हो ।
नेपालमा विद्युतीय सवारीसाधन आयात गर्दा क्षमताअनुसार १० देखि ४० प्रतिशतसम्म भन्सार तिरे पुग्छ । तर, इन्धन (पेट्रोल–डिजेल)बाट चल्ने गाडीको आयातमा भन्सार, अन्तःशुल्कलगायत शीर्षकमा दुई सय प्रतिशतसम्म कर तिर्नुपर्ने व्यवस्था छ । त्यसमाथि गत महिनादेखि नेपाल राष्ट्र बैंकले इन्धनबाट चल्ने सवारीसाधनको आयातका लागि एलसी (प्रतीतपत्र) खोल्दा ५० प्रतिशत पुँजी ऋणी आफैँले जोहो गर्नुपर्ने व्यवस्था गरेको छ । बैंकले ५० प्रतिशत मात्र रकम लगानी गर्छन् । तर, विद्युतीय गाडी आयातमा एलसी (प्रतीतपत्र) खोल्दा बैंकमा १० प्रतिशत मात्र नगद जम्मा गरे पुग्छ । बाँकी ९० प्रतिशत रकम बैंकबाट ऋण लिन पाइन्छ । पुसअघि इन्धनबाट चल्ने गाडीको आयातमा पनि मार्जिन राख्नुपर्दैनथ्यो । विद्युतीय गाडीमा भने अहिले पनि मार्जिन राख्नुपर्दैन ।
मुलुकमा विदेशी मुद्राको सञ्चिति घट्न थालेपछि राष्ट्र बैंकले पेट्रोलियम गाडीसहित केही विलासी वस्तुहरूको आयातमा कडाइ गरेको हो । सरकारले पेट्रोलियम गाडीको आयातमा कडाइ गरेपछि पुस महिनामा मात्रै एक सय ८९ विद्युतीय गाडी (कार, जिप र भ्यान) आयात भएको भन्सार विभागले जनाएको छ । विद्युतीय गाडीको सञ्चालन खर्च पनि कम हुने हुँदा धेरै आकर्षण विद्युतीय कारमा देखिएको हो । नेपाली सडकमा दुईपांग्रे, तीनपांग्रे, चारपांग्रेदेखि ६ पांग्रे बससम्म विद्युतीय हुइँकिन थालेका छन् । विद्युतीय गाडी चलाउँदा महँगो मूल्यमा तेल (पेट्रोल–डिजेल) किनेर हाल्नुपर्दैन भने मासिक रूपमा सर्भिसिङ र पार्टपुर्जा फेर्न पनि मोटो रकम खर्च गर्नुपर्दैन ।
चालू आवको ६ महिनामा आयात भएका कुल ११ सय तीन विद्युतीय कार, जिप र भ्यानमध्ये सय किलोवाटसम्मका गाडीको संख्या तीन सय ९६ रहेको छ । यस्तै, सयदेखि एक सय ५० किलोवाटसम्म क्षमताका १३ थान कार, जिप र भ्यान भित्रिँदा एक सय ५० देखि दुई सय किलोवाट क्षमताका कार, जिप र भ्यान ६ सय ९२ भित्रिएका छन् । त्यसभन्दा माथिल्लो क्षमताका कार, जिप र भ्यान दुईवटा भित्रिएको भन्सार विभागले जनाएको छ । यी कार, जिप र भ्यान आयातमा तीन अर्ब २४ करोड ३३ लाख रुपैयाँ खर्च भएको छ ।
सबैभन्दा बढी चीनबाट
नेपालमा चीन, फ्रान्स, इन्डिया, कोरिया, अमेरिका, जापानलगायत मुलुकबाट विद्युतीय कार भित्रिने गरेका छन् । ६ महिनामा कुल ११ सय तीन विद्युतीय गाडी भित्रिँदा चीनबाट मात्रै सात सय ३४ गाडी भित्रिएको देखिन्छ । यो कुल आयातको झन्डै ७० प्रतिशत हिस्सा हुन आउँछ । चीनबाट एक सय किलोवाटसम्मका ८० र एक सय ५० देखि दुई सय किलोवाटसम्मका ६ सय ५४ विद्युतीय गाडी आयात भएको भन्सार विभागले जनाएको छ । दोस्रो सबैभन्दा बढी गाडी आयात हुने मुलुक भारत रहेको छ, जहाँबाट ६ महिनामा एक सय किलोवाटसम्म क्षमताका दुई सय ६३ गाडी भित्रिएका छन् । कोरियाबाट ६२ वटा गाडी भित्रिँदा अमेरिकाबाट १५, जापानबाट २८ र फ्रान्सबाट एउटा विद्युतीय गाडी आयात भएका छन् ।
तीन हजार ६ सय ८१ थान तीनपांग्रे आयात
नेपालमा विद्युतीय तीनपांग्रे रिक्साको बिक्री पनि धेरै हुने गरेको छ । खासगरी तराई भेगमा भाडा लिएर मान्छे बोक्न विद्युतीय रिक्साको प्रयोग बढ्दै छ । चालू आवको ६ महिनामा तीन हजार ६ सय ८१ विद्युतीय तीनपांग्रे रिक्सा आयात भएको भन्सार विभागले जनाएको छ । यो अवधिमा एसेम्बल नगरेका सात सय ३० थान र एसेम्बल गरिएका दुई हजार नौ सय ५१ थान आयात भएको देखिन्छ । नेपालमा दुई छिमेकी मुलुक भारत र चीनबाट तीनपांग्रे रिक्सा आयात हुँदै आइरहेको छ ।