सरकारी नीतिकै ‘खोट’ले मौलायो तस्करी

मंगलबार, ४ माघ, २०७८
डिजिटल संस्करण

तेस्रो मुलुकबाट आयात गरिएका मरिच, छोकडा, सुपारी, केराउ, पप्पी सिडलगायतका वस्तु भारतमा तस्करी भइरहेको छ, सीमामा तस्करी बढ्दा प्रहरीमा सुरक्षा जोखिम बढ्नुका साथै भ्रष्टाचारलाई प्रोत्साहन भइरहेको छ

केराउ, मरिच, छोकडा, सुपारी र पप्पी सिड आयातमा पाँच महिनामा सवा एक अर्ब बाहिरियो 

विदेशबाट आयात गरिएका उत्पादन विदेशमै पैठारी गर्न नेपालको कानुनले वर्जित गरेको छ । तर, स्वदेशमै मागअनुसार पूर्ति भइरहेका उत्पादन पनि तेस्रो मुलुकबाट आयात गरेर भारतमा तस्करी भइरहेको छ । तस्करीमा बल पुग्ने गरी आयात खुकुलो बनाएको सरकारले तस्करी रोक्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र सिमानास्थित भन्सार कार्यालयलाई पनि निर्देशन दिएको छ । 

हेमन्त मल्ल, पूर्वडिआइजी तथा सुरक्षाविद्

केराउ, मरिच, छोकडा, सुपारी र पप्पी सिड जति परिमाणमा आयात गर्न सरकारले स्वीकृति दिएको छ, त्यसको खपत मुलुकभित्र हुँदैन भन्ने सरकारलाई पनि थाहा छ । अर्थात् यसको कुनै न कुनै ढंगले तस्करी नै हुने हो । तर, सरकार आयातमा रोक लगाउँदैन । बरु उक्त खाद्य पदार्थको तस्करी रोक्न मातहतको सुरक्षा संयन्त्रलाई निर्देशन दिन्छ । सीमा क्षेत्रमा हुर्किँदै गरेको अपराध यसैको परिणाम हो । यति मात्र होइन, यसले प्रशासनलाई भ्रष्ट बनाएको छ । विदेशी मुद्राको सञ्चिति घटाएको छ । सुरक्षा संयन्त्रमाथि ‘थ्रेट’ पैदा गराइदिएको छ ।

सरकारी नीतिकै ‘खोट’ ले बढेको तस्करीका कारण सीमा क्षेत्रमा गुन्डागर्दी र अपराध मौलाएका छन् । जसले सीमामा खटिएका प्रहरीमाथि सुरक्षा जोखिम बढेको छ भने चलखेल गर्ने प्रहरीलाई भ्रष्ट हुन प्रोत्साहनसमेत गरेको छ । 

दोस्रो मुलुकबाट आयात गरिएका वस्तु प्रशोधन गरेर तेस्रो मुलुक निर्यात गर्न पाइने भए पनि जस्ताको तस्तै लैजान पाइँदैन । तर, स्वदेशी उत्पादनले नै धान्ने केराउ, मरिच, सुपारीको ठूलो मात्रामा आयात हुनु र यिनै वस्तु सीमाबाट अवैध रूपमा भारत लगिएका घटनाले तस्करीकै लागि ल्याइएको प्रस्ट पार्छ । नेपालमा निकै कम खपत हुने पप्पी सिड पनि ठूलो मात्रामा आयात भएर भारततर्फ तस्करी हुने गरेको छ । नेपाल प्रहरीका पूर्वडिआइजी तथा सुरक्षाविद् हेमन्त मल्ल सरकारले केराउ, मरिच, सुपारी, छोकडा र पप्पी सिड (अफिमको बियाँ)मा सरकारले लिएको दोहोरो नीतिका कारण मुलुकको अर्थतन्त्रमै असर परिरहेको बताउँछन् । 

नेपाल प्रहरीका निवर्तमान प्रवक्ता एसएसपी वसन्त कुँवरले पनि केराउ, मरिच, छोकडा, सुपारी र पप्पी सिडजस्ता खाद्य पदार्थ तस्करी हुने सूचना पाएको बताए ।भन्सार विभागको चालू आवको तथ्यांकअनुसार केराउ, मरिच, छोकडा, सुपारी र पप्पी सिड आयातमा नेपालबाट एक अर्ब १४ करोड ५५ लाख ७९ हजार रुपैयाँ बाहिरिएको छ । कानुनअनुसार विदेशबाट आयात गरिने वस्तुको मूल्य भुक्तानी गर्न नेपाल राष्ट्र बैंकमार्फत एसली खोल्नुपर्छ । आयात हुने सामग्रीको मूल्य अमेरिकी डलरमा भुक्तानी गर्नुपर्छ । 

सरकारले गत वर्ष आयात स्वीकृति दिएको केराउ, मरिच, छोकडा, सुपारी र पप्पी सिडको परिमाण अस्वाभाविक देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ । तर, उद्योग मन्त्रालयले भने यहीवेला सुपारी आयातका लागि थप स्वीकृति दिलाउन कागजात अघि बढाएको छ । कानुनतः सुपारी आयातको नयाँ स्वीकृति दिन मन्त्रिपरिषद् बैठकको निर्णय आवश्यक पर्छ । सोही निर्णयका लागि मन्त्रालयले कागजात अघि बढाएको हो ।  मन्त्रालय स्रोतका अनुसार नामुद सुपारी व्यापारी दिनेश राठी र दीपक पोखरेलको इच्छाअनुसार यो कदम चालिएको हो । 

गत वर्षको आयातका विषयमा भने उजुरी परेपछि विवरण मागेर छानबिन थालिएको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले बताए । ‘केराउ, मरिच, छोकडा, सुपारी र पप्पी सिडको आयात सम्बन्धमा अख्तियारमा उजुरी परेको थियो । सोही उजुरीपछि घटना सम्बन्धमा छानबिन चलिरहेको छ । यसको विस्तृत विवरणचाहिँ अहिले भन्न सकिने अवस्थामा छैन,’ उनले भने । 

विभागका प्रवक्ता हरि पंगेनीले स्वीकृति दिइएका केही विवरण बुझ्न अख्तियारले फाइल लगेको हुन सक्ने बताए । ‘केराउ, मरिच, छोकडा, सुपारी र पप्पी सिडको आयातका लागि गत आवमै विभागले विभिन्न कम्पनीलाई स्वीकृति दिएको हो । सम्झौताअनुसार उनीहरूले गत आवको असार मसान्तसम्ममा सबै वस्तु ल्याइसक्नुपर्ने थियो । तर, त्यसो हुन सकेन । कोभिड– १९ का कारण ल्याउन नसकेको बताएका छन् । पछि उक्त खाद्य पदार्थ चालू आवमा पनि ल्याइएको सूचना छ । स्वीकृति दिइएको परिमाणलगायत विषयमा अख्तियारको चासो हुन सक्छ । कागजात मागिएको पनि हुन सक्ला । विस्तृतमा भने जानकारी भएन,’ उनले भने । 

केराउ : नेपालमा उत्पादित केराउले नै स्वदेशी मागलाई लगभग धान्छ । तर, विगतका वर्षझैँ गत आर्थिक वर्ष पनि सरकारले ८० हजार टन केराउ ल्याउन स्वीकृति दियो । त्यसमध्ये चार हजार नौ सय ६० टन आयात भइसकेको छ । म्यानमार र अफ्रिकी मुलुक मलवीबाट ल्याइएको यो केराउको मूल्य ४६ करोड २० हजार परेको छ । 

सुपारी : झापा, सुनसरीलगायत जिल्लामा सुपारी उत्पादन हुन्छ । विशेषगरी गुट्खामा धेरै प्रयोग हुने सुपारीको नेपाली माग स्वदेशी उत्पादनले नै धान्न सक्छ । तर, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको तथ्यांकअनुसार सरकारले ५० हजार टन थप सुपारी ल्याउन स्वीकृति दियो । भन्सार विभागको तथ्यांकअनुसार स्वीकृति पाएकोमध्ये दुई हजार आठ सय ५२ टन सुपारी आइपुगेको छ । ४७ करोड सात हजार रुपैयाँ मूल्य तिरिएको उक्त सुपारी इन्डोनेसियाबाट आयात गरिएको हो । 

मरिच : नेपालमा मसलाबाहेक अन्य प्रयोजनमा प्रयोग नहुने मरिच स्वदेशमा कमै उत्पादन हुन्छ । तर, तथ्यांकअनुसार सरकारले गत आवमा १५ हजार टन मरिच आयात गर्न अनुमति दियो, जुन नेपाली बजारमा खपत नै हुँदैन । भन्सार विभागको तथ्यांकअनुसार अनुमति दिइएकोमध्ये १२ सय ७७ टन मरिच नेपाल भित्रिसकेको छ । ब्राजिल, म्यानमार र भियतनामबाट आयातीत मरिचका लागि पाँच करोड ३० लाख ६३ हजार रुपैयाँ भुक्तान गरिएको छ । 

छोकडा : सरकारले गत आवमा पाँच हजार मेट्रिकटन छोकडा आयात गर्न स्वीकृति दियो । जुन नेपालमा आवश्यकभन्दा अत्यधिक हो । पाकिस्तान, ट्युनिसिया र युएईबाट आयात गर्न स्वीकृति दिइएकोमध्ये मंसिर मसान्तसम्ममा पाँच सय ३८ टन नेपाल आइसकेको छ । छोकडा आयातका लागि राष्ट्र बैंकले एलसी खोलेर चार करोड दुई लाख ७६ हजार रुपैयाँ भुक्तान गरेको छ । 

पप्पी सिड : मिठाईमा प्रयोग हुने पप्पी सिडको नेपालमा भन्दा भारतमा माग बढी छ । त्यसैले नेपालबाट यसको तस्करी हुँदै आएको प्रहरी अनुसन्धानहरूमै खुलेको छ । सरकारले गत आवमा नेपाललाई आवश्यकभन्दा बढी दुई हजार टन पप्पी सिड टर्कीबाट ल्याउन अनुमति दियो । मंसिर मसान्तसम्म एक सय ७९ टन आयात भइसकेको छ । यसका लागि १२ करोड २१ लाख ५० हजार भुक्तानी भएको छ । 

सीमा क्षेत्रमा तस्करको शक्ति : प्रहरीसँग गोलाबारीमा उत्रिन तयार
सीमा क्षेत्रमा तस्करको शक्ति छिन्न प्रहरीलाई हम्मेहम्मे परिरहेको छ । तस्कर समूह प्रहरीसँग गोलाबारीमै उत्रिएका घटना छन् । केही वर्षअघि झापाको दक्षिणी गाउँ केचना हुँदै सुपारी तस्करी हुँदै गरेको सूचनापछि तत्काल घटनास्थल पुगेको प्रहरीमाथि गोलीप्रहार नै भएको थियो । तस्करीमा संलग्न भारतीय नागरिक नेतृत्वको समूहलाई पक्राउ गर्न अगाडि बढेको प्रहरीमाथि ढुंगामुढासँगै गोली प्रहार गरेका थिए । प्रहरीले १३ राउन्ड जवाफी फायर गरेर घटना नियन्त्रणमा लिएको थियो । घटनास्थलबाट ४० बोरा सुपारी बरामद गरेको थियो । तस्कर समूहकी ५५ वर्षीया द्रोपती गणेश घाइते भएकी थिइन् । 

तस्कर समूहबाट दुई सुरक्षाकर्मीको निर्मम हत्या भएको त्यो घटना 
गत १ कात्तिकको रात नेपाल प्रहरीका असइ गोविन्द विक कैलालीको धनगढी उपमहानगरपालिका– १० स्थित अस्थायी पोस्टमै थिए । उनलाई भारतीय नाका हुँदै केराउ तस्करी हुँदै गरेको सूचना १०:३० बजेतिर आयो । गोविन्द झटपट उठे । प्रहरी जवान रामबहादुर साउदलाई पनि उठाए । उनीहरू पिस्तोलसहित १४ राउन्ड गोली बोकेर घटनास्थलतर्फ लागे । तस्करको समूह नै थियो । सबैका हातमा खुकुरी, चुप्पी र भाला थिए । तिनीहरूले दुई प्रहरीलाई सजिलै नियन्त्रणमा लिए हातखुट्टा बाँधे । धारिलो हतियारले घाँटी, टाउको र अनुहारमा आक्रमण गरे । दुवैको सास चल्न छाडेपछि नदी किनारमा लगेर फालिदिए । तस्करहरू फरार भए । चोटका कारण दुवै प्रहरीको ज्यान गयो । तस्कर समूहका मुख्य नाइके थिए– कैलालीकै रामनिवास राना । 

तस्करी हुँदै गर्दा ठूलो मात्रामा केराउ र छोकडा बरामद भएका दुई घटना 
३ मंसिर ०७५ को घटना हो । सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका– ११ स्थित कोसीको स्परछेउबाट केराउ तस्करी हुँदै गरेको सूचनापछि सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीको टोली घटनास्थल पुग्यो । ६ वटा डुंगाबाट नदीको बाटो हुँदै तस्करी गर्न लागिएको एक सय ७५ बोरा केराउ घटनास्थलमा भेटियो । तर, प्रहरी पुग्नुअघि नै तस्कर भने भागिसकेका थिए । बरामद केराउ जोख्दा तीन हजार सात सय ५० केजी भएको थियो । १५ वैशाख ०७७ को रात तस्करी गरेर भारततर्फ लैजाँदै गरेको अवस्थामा पर्साको वीरगन्ज रजतजयन्ती चोकबाट ५० क्विन्टल छोकडा बरामद भयो । ना.५ख ९८५९ नम्बरको ट्रकमा लोड गरेर छोकडा लगिँदै थियो । ट्रकचालक निशान भनिने विशाल क्षेत्री पनि पक्राउ परे । तर, मालिकको पत्तो लागेन । प्रहरीका अनुसार ३७ लाख ५० हजार मूल्यबराबरको छोकडा थियो । 

जहाजभित्र स्रोत नखुलेको ५० लाख भेटिएको घटना, जसले सुपारी तस्करीलाई पुष्टि गर्छ 
गत १७ पुस अपराह्न विराटनगरबाट काठमाडौं आएको सौर्य एयरलाइन्सको जहाजमा स्रोत नखुलेको ५० लाख रुपैयाँ फेला पर्‍यो । चाउचाउको कार्टुनभित्र राखेर ल्याइएको उक्त रकमसँगै एयरलाइन्स असिस्टेन्ट रेशा श्रेष्ठ र स्टेसन म्यानेजर प्रकाश पौडेल पक्राउ परे । प्रहरीले बरामद रकम राजस्व अनुसन्धान विभाग पठायो । घटना सम्बन्धमा अनुसन्धान चल्दै थियो । यही क्रममा एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलले बरामद रकम आफ्नो रहेको भन्दै विभागमा निवेदन हालेपछि अनुसन्धान एकाएक रोकियो । प्रहरी स्रोतका अनुसार गैरबैंकिङ प्रणालीमार्फत विराटनगरबाट काठमाडौ ल्याइएको उक्त रकम सुपारी कारोबारको थियो । पोखरेल चर्चित सुपारी व्यापारी हुन् । उनलाई अर्का सुपारी व्यापारी दिनेश राठीले उक्त रकम दिएर पठाएका थिए । उनीहरू सेटिङमार्फत हजारौँ टन सुपारी नेपाल भिœयाउँछन् । सोही सुपारी गैरकानुनी ढंगले भारतमा तस्करी गर्छन् । उनीहरूका अधिकांश सुपारी गोदाम नेपाल–भारत सीमानजिक राखिएका छन् । 

See More On

सुझावित समाचार