कोरोनाविरुद्धको खोप लगाउन स्वास्थ्य संस्थामा पुग्नेहरूको संख्या ह्वात्तै बढेको छ। सरकारले सार्वजनिक स्थलमा प्रवेशका लागि खोप कार्ड अनिवार्य गरेपछि खोप लगाउन आउनेको संख्या बढेको हो। सार्वजनिक सेवा लिनलाई समेत खोप कार्ड चाहिने नियम जारी गरेपछि खोपलाई बेवास्ता गर्ने र खोेपको पहुँचमा नआएकाहरू अहिले धमाधम खोप लगाउन स्वास्थ्य संस्था धाउन थालेका छन्।
कोभिड– १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी)को पुस २५ गते बसेको बैठकले खोप कार्ड अनिवार्य गर्ने निर्णय गर्दै यसलाई कार्यान्वयन गर्न सम्बद्ध सबै निकायलाई सिफारिस गरेको थियो। सोहीअनुसार माग ७ गतेदेखि सार्वजनिक स्थलमा प्रवेश गर्न खोप कार्ड अनिवार्य चाहिनेछ।
खोप कार्ड अनिवार्य गरेसँगै शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा कोरोनाविरुद्धको खोप लगाउन आउनेको संख्या बढेको छ। त्यहाँ दैनिक हजारभन्दा बढीलाई खोप दिने गरिएको छ। त्यस्तै, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, सिभिल अस्पताल, नेपाल प्रहरी अस्पताल, सशस्त्र प्रहरी अस्पताल, पाटन स्वास्थ्य विभाग प्रतिष्ठानलगायतमा पनि खोप लगाउन आउनेको भिड लागेको छ।
यसअघि पहिलो मात्राको खोपसमेत नलगाएकाहरू सरकारले सूचना जारी गरेपछि स्वास्थ्य संस्थामा पुग्दा भिड बढेको हो। खोपकार्ड अनिवार्य गर्दा खोपको दायरासमेत बढेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवा रोग विषेशज्ञ डा. शेरबहादुर पुनले बताए। उनले खोप कार्ड अनिवार्य गर्नु प्रभावकारी रहेको जानकारी दिए। ‘अहिले खोप लगाउन आउनेको संख्या ह्वात्तै बढेको छ, यसको कारण खोप कार्ड अनिवार्य गर्नु हो,’ डा. पुनले भने, ‘खोप लगाउँदिनँ भनेर बसेकाहरू पनि खोप लगाउन आएका छन्, यो एकदमै राम्रो हो।’ उनले खोपकाे पहुँच बढाउन सरकारले गरेको निर्णय उपयुक्त रहेको बताए।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले खोपको पहुँच बढाउने सन्दर्भमा सरकारले खोपकार्ड अनिवार्य गर्नु उचित देखिएको बताए। उनका अनुसार अहिले देशभरका खोप केन्द्रमा पहिलो र दोस्रो डोजको खोप लगाउनेको भिड बढेको छ। खोपलाई नजरअन्दाज गरेका धेरै व्यक्तिहरू अहिले खोप लगाउन स्वास्थ्य संस्थामा आउने गरेको सहप्रवक्ता अधिकारीको भनाइ छ। यो संख्या आगामी १५ दिनमा कम हुने उनले बताए। ‘कतिपय मानिसले खोप नै नलगाई बसेका थिए, खोप कार्ड अनिवार्य गरिएपछि उनीहरू पनि खोप लगाउन आएको देखिन्छ,’ उनले भने, ‘खोपमा सबैको पहुँच बढाउने यसरी नै हो।’
सरकारले माघ ७ गतेदेखि लागू हुनेगरी खोप कार्ड अनिवार्य गरेको छ। सरकारी कार्यालयबाट सेवा सुविधा लिन, हवाई उडानमा जाँदा, अस्पताल, सिनेमा हल, होटेल तथा रेस्टुरेन्ट, पार्टी प्यालेस, रंगशालालगायत ठाउँमा जाँदा खोप कार्ड अनिवार्य गरेको छ। खोप कार्ड अनिवार्य गरिएपछि खोप लगाउन स्वास्थ्य संस्थामा पुग्नेको भिड बढेको हो।