नेपाल विद्युत् प्राधिकरणले सेवाग्राहीलाई सहज रूपमा सेवा दिने भन्दै पटकपटक सार्वजनिक प्रतिबद्धता जनाएको छ । कुनै पनि काम सात दिनभित्र सम्पन्न गर्ने नीतिगत व्यवस्था पनि गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सेवाग्राहीसँग कुनै पनि अनावश्यक माग नराख्न तथा हुने काम हुने भन्न, नहुने काम अहिले हुँदैन भन्ने निर्देशन दिए पनि कर्मचारीले भने अटेर गरेर घुस लिएको पाइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज प्राधिकरण काठमाडौं ग्रिड महाशाखा सबस्टेसन पाटन ललितपुरमा कार्यरत सबस्टेसन प्रमुखलाई रु एक लाख ४० हजार घुससहित पक्राउ गरेको छ । सबस्टेसन प्रमुख सोमप्रसाद पहाडीले प्राधिकरणले गाडेको बिजुलीको पोल सार्नका लागि सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको टंगालबाट गएको टोलीले पक्राउ गरेको हो ।
आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार पहाडीलाई घुस लिँदै गरेको अवस्थामा कार्यालय परिसरबाट पक्राउ गरेको हो। आरोपी पहाडीको थप अनुसन्धान भइरहेको छ ।