हिमाली जिल्ला ताप्लेजुङमा जिल्ला प्रशासन कार्यालयले २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । अर्को सूचना जारी जारी नहुन्जेल प्रशासन कार्यालयले २५ जनाभन्दा बढी भेला हुन, विभिन्न कार्यक्रमहरू गर्न नपाउने सूचना जारी गरेको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए ।
प्रजिअ पाण्डेले कोभिडको बढ्दो चापलाई मध्यनजर गर्दै अत्यावश्यक रूपमा नियमित कार्यक्रम गर्नुपरे प्रशासनको अनुमति लिएर मात्र गर्नुपर्ने बताए ।
माघ ७ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्न खोपकार्ड अनिवार्य गरेकोसमेत प्रजिअ पाण्डेले बताए । कुनै पनि सार्वजनिक ठाउँमा जाँदा अनिवार्य खोपकार्डसमेत देखाउनुपर्ने पनि उनले बताए । प्रशासन कार्यालयले खोप नलाएका १२ वर्षभन्दा माथिकालाई खोप लगाएर सुरक्षित रहनसमेत जिल्लावासीमा आग्रह गरेको छ ।