बालुवाटार जग्गा हिनामिना प्रकरणका बिचौलिया छुटे

बुधबार, २८ पुष, २०७८
डिजिटल संस्करण

तत्काल मुद्दा नचलाउने निर्णय गरी जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अनुसन्धान प्रतिवेदन प्रहरीमा फिर्ता गरिदिएपछि बालुवाटार जग्गा हिनामिना प्रकरणका मुख्य बिचौलिया भनिएका रामकुमार सुवेदी छुटेका छन् । सरकारी वकिल कार्यालयकै निर्देशनमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई मंगलबार आफन्तको जिम्मा लगाएर छाडेको हो । 

तीन साताअघि श्रीमती माधवीसहित उनलाई प्रहरीले पक्राउ गरेको थियो । सिआइबीले लिखत किर्ते कसुर मुद्दा चलाउन रायसहितको प्रतिवेदन पठाएकोमा अनुसन्धान पूरा नभएको भन्दै सरकारी वकिल कार्यालयले सोमबार फाइल सिआइबीमा फिर्ता पठाएको थियो । जसअनुसार तत्काल मुद्दा नचल्ने भएपछि बिचौलिया छुटेका हुन् । तत्काल मुद्दा अघि बढ्ने अवस्था नभएपछि उनीहरू छुटेका हुन् । 

सरकारी वकिल कार्यालयकै निर्देशनमा खोजेको बखत उपस्थित हुने गरी सुवेदीदम्पतीलाई आफन्तको जिम्मा लगाएर छाडिएको सिआइबीका प्रवक्ता एसपी श्यामकुमार महतोले बताए । अर्का बिचौलिया भनिएका शोभाकान्त ढकाल भने जेलमै छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दामा पनि सुवेदी फरार छन् । त्यस विषयमा सिआइबीले विशेष अदालतलाई ‘उपस्थित गराउनु पर्ने वा नपर्ने’ भनेर पत्र लेखेको थियो । जसमा विशेषले उनी आफैँ उपस्थित हुन पाउने समय बाँकी रहेको जवाफ दिएपछि सिआइबीले उनलाई छाडेको हो । मुद्दा दायर भएको करिब दुई वर्षसम्म पनि सुवेदी अदालतमा उपस्थित भएका छैनन् । 

जिल्ला सरकारी वकिल कार्यालयले यो कसुर ०६९ भन्दा पहिलेको भएकाले मुलुकी ऐनअनुसार अनुसन्धान हुने निष्कर्ष निकालेको हो । मुलुकी ऐनअनुसार किर्ते मुद्दाको हदम्याद हुँदैन । जसकारण वर्षाैँसम्म फाइल थन्क्याएर राख्न मिल्ने भएकाले आरोपीले उन्मुक्ति पाउने जोखिम छ । यस मुद्दामा जोडिएका व्यक्तिहरू अवकाशप्राप्त उच्च प्रशासक तथा प्रभावशाली व्यापारी भएकाले दबाबको भरमा सरकारी वकिलले प्रहरीमा फाइल फिर्ता गरेको हो ।
 

सुझावित समाचार