नाकामा निष्फिक्री आवतजावत

मंगलबार, २७ पुष, २०७८
डिजिटल संस्करण

सीमामा आउजाउ गर्नेसँग सामान्य सोधपुछ, मास्कसमेत नलगाई नेपाल भित्रिन्छन्

भारतसँग झापाको १४४ किलोमिटर खुला सीमा जोडिएको छ । पूर्वमा पश्चिम बंगाल र दक्षिणमा विहारसँग जोडिएको छ । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण तीव्र रूपमा बढेको छ । नेपालमा पनि केही दिनयता संक्रमण दर बढ्दै गएको छ । 

संक्रमणको खतराका कारण सरकारले १५ माघसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । तर, खुला सीमा रहेको झापामा भने सीमामा निष्फिक्री आवतजावत चलिरहेको छ । नेपाल प्रवेश गर्ने मुख्य नाका पूर्वीनाका काँकडभिट्टामा कडाइ छ । यहाँ स्वास्थ्यकर्मी पनि छन् । तर, काँकडभिट्टाबाहेक अरू नाका सामान्य अवस्थामै छ । दैनिक पाँच सयसम्म आवतजावत गर्ने काँकडभिट्टापछिको ठूलो नाका भद्रपुरमा सुरक्षा सतर्कता छैन । नाकामा सुरक्षाकर्मी मात्र बस्छन् । उनीहरूले सामान्य सोधपुछपछि नेपाल भित्रिन दिने गरेका छन् । 

फत्तेपुर, महाभारालगायत अन्य नाकाबाट सामान्य अवस्थाझैं निस्फिक्री आवतजावत भइरहेको छ । नाकामा आवतजावत गर्ने अधिकांशले स्वास्थ्य सुरक्षा अपनाएका हुँदैनन् । सामान्य मास्कसमेत नलगाई नेपाल भित्रिने गरेको सीमाका स्थानीय बताउँछन् । ‘बाहिरबाट मान्छे हेर्न आएको छ भने प्रहरीले कडा गरेकोजस्तो गर्छ । नभए त मास्क पनि नलगाई भारतबाट आउँछन् । जसका कारण हामीलाई पनि जोखिम छ,’ गौरीगन्जस्थित फत्तेपुर नाकाको दशगजामै घर भएका गुणाप्रसाद गनगाईं भन्छन्, ‘कोरोना फैलिन सक्ने खतरा छ । कम्तीमा मास्क लगाएर आए मात्र पनि हामी कोरोनाबाट बच्थ्यौँ कि भन्ने लाग्छ ।’

पूर्वीनाका काँकडभिट्टाबाहेकको नाकामा कडाइ गर्नुपर्ने अवस्था रहेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले सिसिएमसिसीको निर्णय आएपछि जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठक बसेर कडाइ गरिने बताए । ‘नाकामा स्वास्थ्यकर्मी छैनन् । काँकडभिट्टाबाहेकका नाका विगतको जस्तै सामान्य अवस्थामा छन् । यसको व्यवस्थापन गर्नुपर्छ भन्नेमा हामी पनि छौँ । सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर गर्छौँ पनि,’ उनले भने, ‘अहिले कोरोना संक्रमण दर हेर्दा खतरा पनि छ । नाकामा बस्ने सुरक्षाकर्मीलाई मास्क लगाउनलगायत मापदण्ड पालना गर्न भनेर केही कडाइ गरेका छौँ । तर, सिसिएमसिसीको निर्णय आएपछि डिसिसिएमसीको बैठक बसेर यसबारे निर्णय गर्छौँ ।’

See More On

सुझावित समाचार