सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रहितविपरीत कुनै पनि काममा संलग्न नहुने बताएका छन् । शनिबार गृहजिल्ला आएर सापकोटाले जुनसुकै जोखिम मोल्न आफू तयार रहेको बताउँदै भने, ‘मप्रति सबैले विश्वास र भरोसा राखेका छन् । बरु मै सकिन्छु, तर राष्ट्र र जनतालाई धोका दिन्नँ ।’
बलेफी गाउँपालिका– २ फुल्पिङकोटस्थित मिलिजुली मातृशिशु बचत तथा ऋण सहकारीको वार्षिक साधारणसभामा बोल्दै सभामुख सापकोटाले पटकपटक संसद् भंग गरेर राष्ट्रहितविपरीत टाउको उठाउने प्रयास भएकाले जनताको बलमा जीवित संसदलाई देश, जनता र लोकतन्त्रको पक्षमा प्रयोग गरिने स्पष्ट पारे ।
गाउँका आमा, दिदीबहिनी मात्रै संलग्न सो सहकारीले महिलाको समस्यामा काम गर्दै आएको छ । सहकारीमा संलग्न महिला सेयर सदस्यलाई सहयोग गर्ने वचन दिँदै उनले देशका लागि प्राणको बाजी लगाउन तयार रहेको, तर जनतालाई धोका नदिने बताए ।
शनिबार बिहानैदेखि आफ्नो निर्वाचन क्षेत्रमा घुमेका सापकोटाले जलवीरे क्षेत्रको विकास निर्माण र प्राकृतिक विपतले क्षति पुगेको ब्रह्मायणी नदी तटीय क्षेत्रको पनि अवलोकन गरेका थिए ।
अवलोकनको क्रममा स्थानीयसँग सभामुखले भने, ‘तपाईंहरूको मतले आज म सभामुखको जिम्मेवारीमा छु । राज्यका तीन अंगमध्ये एउटाको प्रमुख बनाउनुभएको छ । तपाईंहरूको ममाथिको विश्वास र भरोसालाई धोका दिनेछैन ।’
एमसिसीबारे उच्चारण नगरे तापनि उनले पटकपटक बरु प्राणको बाजी लगाउँछु, तर राष्ट्रहितविपरीत काम गर्दिनँ भनेर प्रण गरेका थिए । उनले राजनीतिक खिचातानी, कोभिड– १९ र जलवायु परिवर्तनले निम्त्याएको संकटका कारण सभामुख भएपछिको दुई वर्षमा भने जसरी काम गर्न नपाएको बताए । सापकोटाले फुल्पिङकाेटमै रहेको स्वास्थ्यचौकी भवनको शिलान्याससमेत गरेका छन् । सभामुख आइतबार पनि निर्वाचन क्षेत्रमै रहनेछन् ।