प्रहरीबाटै झारलको सिकार, गाउँलेले भेटेपछि घटना सामसुम पार्ने प्रयास

शुक्रबार, २३ पुष, २०७८
डिजिटल संस्करण
प्रहरीबाटै झारलको सिकार, गाउँलेले भेटेपछि घटना सामसुम पार्ने प्रयास

सिकार खेलेर मारिएको झारल ।

मंगलबार दिउँसो २ बजेतिर नाम्खा गाउँपालिका–४ याल्वाङ गाउँभन्दा पारि पुया लेकआसपास बन्दुक पड्केपछि जंगली जनावरको चोरीसिकारी भएको हुन सक्ने भन्दै याल्वाङ र याङ्गारबाट ३० जना स्थानीय तत्काल घटनास्थलतर्फ लागे । १५ जना बन्दुक पड्केको स्थानतर्फ गए । बाँकी गाउँनजिक पुलमा बसे । केहीबेरपछि प्रहरी हवल्दार र दुईजना सिपाहीलाई स्थानीयले पुलनजिकै भेटे । उनीहरू हतियारसहित फेला परेको स्थानीयवासीले बताएका छन् । 

हिउँ टेक्दै घटनास्थलतर्फ लाग्न थालेपछि प्रहरीहरूले ‘केही छैन माथि किन जान लाग्नुभएको’ भनेर फर्काउन खोजेका थिए । जवाफमा स्थानीयले ‘जुत्ताका पाइला भेटियो, तपाईंहरूले सिकार खेल्नुभएको हो’ भनेपछि एक प्रहरीले स्वीकारसमेत गरेका थिए । हिउँ परेको जमिनमा पाइला छिचोल्दै जाँदै पुया लेकनजिकै ढुंगाभित्र जंगली जनावर झारल मारेर पोलेर राखेको फेला पारेको नाम नबताउने सर्तमा एक स्थानीयले बताए । याल्वाङ प्रहरी चौकीमै कार्यरत प्रहरीले झारलको चोरी सिकारी भएको प्रमाण फेला परेको छ । अहिले भने उनीहरूले बयान फेर्न थालेको स्थानीयको भनाइ छ ।

नाम्खा गाउँपालिकामा २० वर्षदेखि जंगली जनावरको चोरीसिकारी गर्न प्रतिबन्ध लगाइएको छ । तर, जंगली जनावरको सुरक्षामा खट्नुपर्ने प्रहरीले चोरीसिकारी गरेको पाइएको छ । प्रहरीले नै झारलको चोरीसिकारी गरेको नाम्खा गाउँपालिका–४ याल्वाङ स्थानीयको आरोप छ । २० वर्षपहिला बौद्ध धर्मगुरु प्रेमा रिक्साल लामाले हिंसा नगर्न प्रवचन दिएसँगै त्यहाँ चोरीसिकारी गर्न प्रतिबन्ध लागेको थियो ।

त्यसैले नाम्खा गाउँपालिकाका स्थानीयले चोरीसिकारी छाडेका छन् । बाहिरबाट सिकार खेल्ने भेटेमा कारबाहीका लागि प्रहरीमा बुझाउने गरेका छन् । पछिल्लो समय जंगली जनावरको चोरीसिकारीको घटना बढे पनि जिल्ला प्रहरी कार्यालय मौन देखिएको छ ।

चोरीसिकारी गर्नेलाई कारबाही गर्नुपर्छ : विष्णुबहादुर लामा, अध्यक्ष नाम्खा गाउँपालिका 

नाम्खा गाउँपालिकामा चोरीसिकारीमा प्रतिबन्ध लगाइएको छ । यसमा संलग्न जोकोहीले कारबाही गर्नुपर्छ । मैले पनि मंगलबार झारलको सिकार गरेको खबर सुनेको छु । डिएसपीलाई समेत खबर गरेको छु । छिट्टै छानबिन हुनुपर्छ ।

डिएसपी हेरम्भ शर्मा भन्छन्– दोषी देखिए कारबाही हुन्छ 

प्रहरीलाई त्यत्तिकै आरोप लगाउन भएन । यदि दोषी देखिएमा छानबिन गर्छु । मुचु प्रहरी चौकीबाट सइको टोली याल्वाङ पठाएर मुचुल्का गर्दै छ । आधिकारिक जानकारी आउन बाँकी छ । प्रहरीले नै गलत गरेको रहेछ भने प्रहरी ऐन कानुनअनुसार कारबाही हुन्छ । 

See More On

सुझावित समाचार