नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको ‘लाइक र डिसलाइक’मा व्यक्तिको छनोट भए पार्टीमा दुर्घटना हुन सक्ने बताएका छन्।
बुधबार एक विज्ञप्ति जारी गर्दै उनले पार्टी सभापति देउवाले केही व्यक्तिलाई केन्द्रीय सदस्यमा नियुक्ति दिएको विषयमा असन्तुष्टि पोखेका छन्। उनले नियुक्ति पाएका सबै व्यक्ति योग्य र सक्षम भएको बताए पनि नियुक्तिको मापदण्डबारे प्रश्न गरेका छन्। ‘सभापतिको लाइक र डिसलाइकमा व्यक्तिको छनोट भए पार्टीमा दुर्घटना हुन सक्छ, नियुक्ति पाउनुभएका सबै साथीहरू सक्षम र योग्य हुनुहुन्छ। तर, के मापदण्ड अपनाएर उहाँहरू नियुक्त हुनुभएको हो ?’ उनले प्रश्न गरेका छन्, ‘हामी जान्न चाहन्छौँ।’
उनले पार्टीमा न्यायोचित अवसरको वितरण र व्यवस्थापन हुनु जरुरी रहेको बताउँदै यसो नभए किन कांग्रेसमा बस्ने भनी कार्यकर्तामा प्रश्न उठ्न सक्ने बताए। उनले विधि र विधानबाहिर गएर गरिने सबै काम बन्द गर्न एकढिक्का भएर अघि बढ्न आग्रह गरेका छन्। उनले पार्टीभित्र हुने सबै कार्यहरू न्यायसंगत, विधिविधानसंगत, विवेकपूर्ण र व्यावहारिक तरिकाबाट निर्णय गरियोस् भन्ने अभिव्यक्ति दिएका छन्।
‘यी विषयमा पार्टीभित्र आवाज उठाउन सक्ने कि नसक्ने ? मलाई लाग्छ हामी सक्छौँ,’ उनले भनेका छन्, ‘हाम्रा अगाडिका बाटाहरू सहज छैनन्, तीन तहको निर्वाचन हाम्रोसामु छ, कांग्रेस एकता र रूपान्तरणको सन्देश बोकेर नेपाली जनताको विश्वास र भरोसाको कांग्रेस निर्माणको अभियानमा जानेछौँ ।’