हिमपातका कारण एक सातादेखि रसुवागढी नाकाबाट आयात ठप्प

सोमबार, १९ पुष, २०७८
डिजिटल संस्करण
हिमपातका कारण एक सातादेखि रसुवागढी नाकाबाट आयात ठप्प

फाइल तस्बिर

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट एक सातादेखि आयात ठप्प बनेको छ । चीनतर्फको भूभागमा गत मंगलबार र बुधबार परेको बाक्लो हिमपातका कारण एक सातादेखि रसुवागढी नाका हुँदै नेपाल सामान आयात ठप्प भएको हो ।

करिब ३ फिटभन्दा बढी हिमपात हुँदा नेपाल सामान आयात प्रभावित भएको व्यवसायीहरूले बताएका छन् । बाक्लो हिमपातका कारण नेपाल ल्याउन चीनको केरुङस्थित गोदाममा राखिएको सामान लोड हुन नसकेको व्यवसायी पुरुषोत्तम पौडेलले बताए । 

केरुङमा बाक्लो हिमपातका कारण यातायात सञ्चालन नहुँदा सामान आयात प्रभावित भएको व्यवसायीहरूले बताएका छन् । व्यवसायी धर्म पौडेलका अनुसार केरुङमा २५ कन्टेनरभन्दा बढी सामान लोड भएर बसेका छन् ।

चिनियाँ पक्षले हिउँ पन्छाउन सुरु गरेको र अबको एक–दुई दिनभित्र सामान पठाउन सकिने जानकारी दिएको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख रामप्रसाद मैनालीले बताए । ‘चीनबाट आयात हुने सामान केही पनि आएको छैन, एक–दुई दिनमा आयात सुरु हुन्छ,  हिउँ पन्छाउँदै छौँ भनेर जानकारी आएको छ, बुधबारसम्ममा आयात सुरु हुन्छ कि ।’

चिनियाँ पक्षले बिहान ७ कन्टेनर र साँझ २ कन्टेनर गरी दैनिक ९ वटा चिनियाँ कन्टेनरमार्फत रसुवागढीसम्म सामान आयात गर्ने गरेको थियो । मंगलबार बेलुका नै नाकामा आएर बसेका ७ कन्टेनरले बुधबार बिहान र २ कन्टेनरले बिहीबार बिहान रसुवागढीसम्म सामान ल्याएको बताइएको छ । चीनतर्फ बाक्लो हिमपात कारण हरेक वर्ष नेपाल आयात हुने सामान प्रभावित हुने  गरेको छ ।  

कोरोना संक्रमण सुरु भएयता चीनले कोटा प्रणालीमा सामान ल्याइरहेको छ । २०७६ माघ १५ देखि २०७७ जेठ २२ सम्म नाका बन्द भएको थियो । त्यसपछि चीनले रसुवागढी नाका एकतर्फी सञ्चालन गरेको हो । चीनले आफ्नै गाडीमा नेपालतर्फको भूभागमा सामान ल्याइदिने गरेको छ । 

अहिले रसुवागढी नाकाबाट चिनियाँ ९ वटा कन्टेनरमा सामान आयात भइरहेको छ । चिनियाँ एउटा गाडीमा आएको सामग्री नेपाली दुईवटा कन्टेनरमा नेपाली कामदारले लोड गर्ने गरेका छन् । चिनियाँ गाडीमा आएको सामग्री नेपाली गाडीमा लोड–अनलोड गर्न स्वास्थ्यका मापदण्ड अपनाउँदै नेपाली कामदार नाकामा खटिएका छन् ।

रसुवागढी नाका हुँदै अहिले नेपालतर्फ रेडिमेड कपडा, इलेक्ट्रोनिकलगायत  सामग्री भित्रिने गरेको छ । नेपालबाट केरुङतर्फ हस्तकलाका सामग्री  जाने गरेकोमा कोरोना संक्रमण सुरु भएपछि चीनले निर्यात रोकेको छ । २०७१ मंसिर १५ देखि रसुवागढी नाका विधिवत रूपमा सञ्चालनमा आएको हो । भूकम्पपछि रसुवागढी र तातोपानी नाका बन्द भएको थियो ।

सुझावित समाचार