ग्लोबल आइएमईको वार्षिकोत्सवमा विभिन्न कार्यक्रम

सोमबार, १९ पुष, २०७८
डिजिटल संस्करण

ग्लोबल आइएमई बैंक लिमिटेडले स्थापनाको १६औँ वर्षमा प्रवेश गरेको अवसर पारेर विभिन्न कार्यक्रम गरेको छ । बैंकले सातवटै प्रदेशमा सप्ताहव्यापी रूपमा आयोजना गरेको कार्यक्रममा निःशुल्क स्वास्थ्य शिविरहरू, रक्तदान कार्यक्रम, छात्रवृत्ति वितरण तथा बैंकको अन्तर विभागीय खेलकुद प्रतियोगिताको आयोजना गरेको थियो ।

यसै अवसर पारेर बैंकले १५ वर्षदेखि निरन्तर सेवारत ४९ कर्मचारीलाई सम्मान गरेको जनाएको छ । काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई १५ वर्षे कोसेढुंगा पार गरेकोमा सम्मान गरेका थिए । यसका साथै अध्यक्ष ढकालले बैंकमा १५ वर्षदेखि निरन्तर सेवारत कर्मचारीहरूलाई सम्मान गरेका थिए । 

कार्यक्रममा बैंकका अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले उत्कृष्ट बैंकिङ सबैका लागि भन्ने नाराका साथ आफ्नो स्थापनाको १५ वर्षमा १८ वटा बैंक तथा वित्तीय संस्थाहरू मर्जर तथा एक्विजिसनमार्फत आफूलाई अधिकांश वित्तीय सूचकहरूमा अब्बल बनाउन सफल रहेको बताए । प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले आफ्नो सेवालाई ग्राहकमैत्री बनाउँदै अहिलेको डिजिटल युगमा समयसापेक्ष सेवा दिने गरी लक्ष्य निर्धारण गरेर बैंक अगाडि बढेको बताए । 

हाल बैंकको ३३ अर्ब ७५ करोड रुपैयाँ सेयरधनी कोष, दुई खर्ब ७४ अर्ब रुपैयाँ निक्षेप संकलन र दुई खर्ब ६९ अर्ब रुपैयाँ कर्जा लगानी रहेको जनाइएको छ । बैंकले ७६ जिल्लामा रहेका दुई सय ८७ शाखा, दुई सय ६३ शाखारहित बैंकिङ सेवा, दुई सय ५२ एटिएम, ४८ एक्सटेन्सन काउन्टर र तीनवटा वैदेशिक सम्पर्क कार्यालयमार्फत सेवा दिइरहेको जनाएको छ । 
 

सुझावित समाचार