रसुवा र नुवाकोटको संगमस्थल बेत्रावतीस्थित उत्तरगयाधाममा पुसेऔँसीमा श्राद्ध गर्नेको आइतबार बिहानैबाट घुइँचो लागेको छ । धार्मिक एवं पवित्र त्रिशूली, सलाखु र फलाँखु खोलाको त्रिवेणीस्थल बेत्रावतीमा पुसेऔँसीको दिन दिवंगत पितृहरूको चिरशान्तिको कामना गर्दै ‘जौ’को पिण्ड दिएर श्राद्ध गर्नेको भिड लागेको हो ।
उत्तरगयाधाममा हरेक पर्ष पुसेऔँसीका दिन हजाराैँले पितृको नाममा पिण्ड तर्पण गर्ने गरेका छन् । हिन्दू धर्मावलम्बीले बेत्रावती क्षेत्रलाई उत्तरगया भनेर पितृको नाममा श्राद्ध, दान, तर्पण गरेका छन् भने बौद्ध धर्मावलम्बीले मृत्यु भएका आफन्तका नाममा लामाहरूले मन्त्र पढ्ने र बत्ती बालेका छन् । उत्तरगयाको नामले चिनिने बेत्रावतीमा पौषकृष्ण औँसीका दिन आई पितृलाई पिण्डदान दिई श्राद्ध गर्नाले पितृ मोक्ष हुन्छ भन्ने विश्वास रहेको छ ।
देवता र दानवले समुद्र मन्थन गर्दा निस्किएको हलाहल नामको कालकुट विष घाँटीमा लिएका महादेवले बेतको लौरोले पहाडमा हान्दा त्यहाँबाट बगेको बेत्रगंगा र त्रिशूलले छेड्दा निस्किएको पानीबाट बगेको त्रिशूली नदीको संगममा पौषकृष्ण औँसीका दिन सबै देवता र मृतात्माको जमघट हुने विश्वासका साथ श्राद्ध गर्ने गरिएको जनबिश्वास रहेको छ ।
बेत्रावतीमा पौस कृष्ण औँसीका दिन आमाबाबु नभएकाहरूले सके बर्सेनि र नसके जीवनमा एकपटक भए पनि श्राद्ध गर्ने चलन छ । स्कन्द पुराणको हिमवत् खण्डमा उल्लेख भएअनुसार उत्तरगया क्षेत्रमा त्रिशूली नदी र देवी गंगा नदी बगेकाले उक्त पवित्र ठाउँलाई बेत्रगंगा भनेर मानिएको छ । बेत्रावतीमा श्राद्धका लागि पवित्र मानिएका हिन्दकुश क्षेत्रका चार गयामध्ये एउटा गयाको रूपमा पिण्डदान गर्ने चलन छ ।

चार गयामध्ये तीनवटा गया भारतमा पर्छ । भारतमा रहेको चारधाम दर्शन गर्नुभन्दा पहिले उत्तरगयामा दर्शन गरे पुण्य प्राप्त हुने भक्तजनको भनाइ छ । यस स्थानमा आई परलोक भएका आफ्ना बाबुआमाको नाममा श्राद्ध गरेमा २० पुस्ताअघिका पितृ मोक्ष्य प्राप्ति गरी स्वर्गजाने जनविश्वास रहिआएको छ ।
श्राद्ध गर्नका लागि रसुवासहित नुवाकोट, धादिङ, काठमाडाैं, मकवानपुर, चितवन, गोरखा, कास्कीलगायतका स्थानका मानिसहरू उत्तरगयामा आउने गरेका छन् ।