सहिद स्मारक ए डिभिजन लिगमा शुक्रबारबाट सातौँ चरणका खेल हुँदै छन्। सातौँ चरणको पहिलो खेलमा विभागीय डर्बी एपिएफ र त्रिभुवन आर्मी फुटबल क्लब आमनेसामने हुँदै छन्। आर्मीले क्लब लाइसेन्स पाए पनि यो सिजन एएफसी छनोट खेल्ने मौकाबाट वञ्चित भएको छ। यद्यपि ए डिभिजन लिग उपाधि होडमा भने हुनेछ।
शुक्रबार दशरथ रंगशालामा एपिएफ र आर्मीले खेल्दा सहिद स्मारक ए डिभिजन लिगमा सातौँ चरणका खेल आरम्भ हुनेछन्। एएफसी छनोट खेलको होडबाट बाहिरिएको आर्मी एपिएफलाई दबाबमा राख्दै तीन अंक जोड्ने लक्ष्यमा हुनेछ। यद्यपि अघिल्लो खेलमा निकालेको नतिजाका कारण आर्मी सशंकित छ। आर्मीका प्रशिक्षक राजु तामाङले एपिएफविरुद्ध स्पष्ट तीन अंकका लागि खेल्दै उपाधि होडलाई निरन्तरता दिने बताए।
यस्तै, दिनको दोस्रो खेल तालिकाको रेडजोनमा रहेको फ्रेन्ड्स र न्युरोड टिम (एनआरटी) बीच हुँदै छ। यता चिरपरिचित प्रतिद्वन्द्वी मनाङ मर्स्याङ्दीलाई हराउँदै एएफसी छनोटलाई सहज बनाएको मच्छिन्द्रले यसै चरणको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबको सामना गर्दै छ।
छैठौँ चरणका खेल सकिँदासम्म जारी लिगमा साबिक विजेता मच्छिन्द्र १४ अंकका साथ तालिकाको शीर्ष स्थानमा अटाउँदा, सातौँ चरणमा पोखरा मैदानमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी)सँग खेल्ने टोली मनाङ १३ अंकका साथ दोस्रो स्थानमा छ। यस्तै, अपराजित टोली संकटा १२ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहँदा दुई अंकले पछि रहेको आर्मी तालिकाको चौथो स्थानमा छ। यसै सिजन बढुवा भएको सातदोबाटो ८ अंकका साथ पाँचौ स्थानमा छ।