माओवादी महाधिवेशन प्रतिनिधि भन्छन् – नेताभन्दा नीतिमा ध्यान छ

मंगलबार, १३ पुष, २०७८
डिजिटल संस्करण

रुकु चौलागाईं, काभ्रे 
देशलाई यहाँसम्म ल्याएको माओवादीले नै हो । हामीले जे–जे उपलब्धि हासिल गरेका छौँ, ती सबैमा माओवादी जोडिएको छ । आगामी दिनमा तिनको स्वामित्व लिने नीति चाहिएको छ । नेतृत्वले देश र जनताको समस्या बुझेर मुलुक बदल्न सक्ने ल्याकत राख्नुपर्छ । शान्ति प्रक्रियायता भएका कमजोरीलाई पार्टीका माथिल्लो तहका नेता तथा तल्लो पंक्तिका कार्यकर्तासम्मले राम्रोसँग बुझेका छन् भन्ने लाग्छ । अब ती सबैलाई सच्याएर जनतामा जानुपर्छ । 

प्रेम कटुवाल, दैलेख 
आगामी दिनमा माओवादी केन्द्र कस्तो हुनुपर्छ भन्ने सन्दर्भमा महाधिवेशनले महत्वपूर्ण राजनीतिक प्रतिवेदन र त्यसलाई कार्यान्वयन गर्ने सांगठनिक संरचनाका निम्ति पार्टीको विधान पास गर्दै छ । अध्यक्षबाट आएको राजनीतिक प्रतिवेदनमा मंगलबारबाट समूहगत छलफल हुँदै छ । त्यसले एउटा निष्कर्ष निकाल्नेछ । नेपाली क्रान्ति र अहिलेको आवश्यकताअनुसारको नेतृत्व पनि महाधिवेशनले चयन गर्नेछ भन्नेमा म विश्वस्त छु । 

कुलबहादुर बुढाथोकी, दोलखा
हामी नेता छान्नभन्दा नीति बनाउन केन्द्रित छौँ । नीतिले नै नेतृत्व जन्माउँछ । विश्वका कम्युुनिस्ट पार्टीहरू रक्षात्मक रहेका वेला अध्यक्ष प्रचण्डले सबैलाई ऊर्जा दिने गरी दस्तावेज ल्याउनुभएको छ । दस्तावेजको भावले पूर्वमाओवादीसँगको एकतालाई बोकेको छ । प्रचण्डको नेतृत्वमा पार्टी थप सशक्त हुने विश्वास जागेको छ । हुन त एकीकृत माओवादीका कार्यकर्तामा मात्र होइन, अन्य दलका नेताहरूमा समेत प्रचण्डप्रति आशा र विश्वास देखिएको छ । 

पवित्रा गिरी, कैलाली 
अबको माओवादी नयाँ विचारसहित श्रमजीवी–सर्वहारा वर्गसँग जोडिन सक्नुपर्छ । पार्टीको नेतृत्वले राम्रो गर्नुभएको छ । स्थानीय तहका कार्यकर्तालगायत हामी सबैमा कमीकमजोरी छन् । त्यसलाई पनि हामीले स्विकार्नुपर्छ । एकपछि अर्को विभाजनका कारण माओवादी कमजोर बनेको हो । ६४ पछिका हरेक निर्वाचनमा माओवादीका उम्मेदवार झिनो मतले पराजित भएका छन् । यसरी हेर्दा माओवादी जनताबाट ‘कट अफ’ भइसकेको देखिँदैन । हामी जनतासँग नै छौँ । अझ नजिक रहेर जानेछौँ ।

टंक गिरी, मोरङ
पार्टी र आन्दोलनलाई मुक्ति चाहने जनता र राष्ट्रिय स्वाधीनताको पक्षमा उठाउने प्रयासस्वरूप हामी महाधिवेशनमा जुटेका छौँ । हामी त्यसो गर्न सक्छौँ भन्ने लाग्छ । सकेनौँ भने हामी पनि कांग्रेस र एमालेजस्तै हुनेछौँ । यसकारण महाधिवेशनले पूर्वमाओवादीबीच एकताको आधार बनाउँदै जीवन्त पार्टी निर्माण गर्नेछ भन्ने विश्वास छ ।  

अरविन दास, महोत्तरी 
रूपान्तरणसहितको माओवादी आजको आवश्यकता हो । देश अहिले पनि माओवादीकै एजेन्डामा अघि बढिरहेको छ । हाम्रा एजेन्डामै ०६४ को संविधानसभा निर्वाचनमा जनताले अत्यधिक जनमत जाहेर गरेका हुन् । अब हामीले मालेमावाद र प्रचण्डपथको संश्लेषण गर्नुपर्छ । त्यसपछि जनताले विश्वास गर्नेछन् र माओवादीप्रति उभार आउनेछ । 

मानबहादुर शाही, रुकुम पश्चिम 
मुख्य प्रश्न नीति र कार्यदिशाको हो । शान्तिपूर्ण आन्दोलनपछि विचार र संगठन कतै छुटेजस्तो देखिन्छ । नयाँ सन्दर्भमा प्रवेश गर्दा माओवादीले आफ्ना मुद्दाहरू पनि पूर्ण रूपमा लागू गर्न नसक्ने र अरूका मुद्दालाई पनि पूर्ण रूपमा स्विकार्न नसकिने स्थिति रहेकाले लाखौँ कार्यकर्ता र जनतामा नैराश्य आएको हो । अब संगठन, विचार र कार्यनीतिलाई दृढताका साथ कार्यान्वयनमा लैजानुपर्छ । 

विजयदेव भट्टराई, काठमाडौं 
मुलुक माओवादीले उठाएका एजेन्डामा अगाडि बढ्ने, तर नेतृत्व अर्कैको हुने अवस्था कसरी बन्यो ? निर्मम समीक्षा गर्नुपर्दछ । माओवादी भुइँमान्छेहरूको प्रतिनिधित्व गर्ने पार्टी भएको नाताले अहिलेको अवस्थाबाट आफूलाई बदल्नैपर्छ । अर्कोतर्फ, फुटेर गएका माओवादीहरूबीच एकताको आधार पनि तयार गर्नुपर्छ । भित्र, बाहिर, जहाँ रहेका भए पनि माओवादी आन्दोलनको उद्देश्य एकै छ । हामी एकताको बाटो हिँडेर नै सफलता हासिल गर्न सक्छौँ भन्ने दिशातिर नेताहरू जानुपर्छ । 

रमेशप्रसाद तिवारी, मलेसिया
माओवादी जनयुद्धले गरिब, निमुखा र पिछडिएका वर्गमा ठूलो आशा र भरोसा ल्याएको थियो । त्यो क्रान्तिप्रतिको विश्वास थियो । गणतन्त्रपछि पनि सामन्तवादको जरा उखेल्न सकिएन । व्यवस्था परिवर्तन त भयो, तर सोच परिवर्तन हुन सकेन । त्यसैले जनताले परिवर्तनको महसुस गर्न पाएनन् । सामन्तवादी पुँजीवादी सोचको अन्त्य नै अबको माओवादीको प्रमुख एजेन्डा हुनुपर्छ । 

दीपेश मोक्तान, सिराहा
आफ्ना मुद्दा छाडेकाले माओवादी कमजोर हुन पुग्यो । जनताका समस्या ज्युँकात्युँ छन्, नेताहरूको जीवनशैली र आचरणमा स्खलन आएको छ । सर्वहारा र मजदुर किसान वर्गको जीवनमा परिवर्तन आएको छैन । यो समस्यालाई साँचो अर्थमा मूल्यांकन गर्न सकियो भने परिवर्तनको संवाहक माओवादीलाई कसैले रोक्न सक्दैन । 

कुसुम बुढामगर, बाग्लुङ 
जनयुद्धताका सपनाहरूमा जनविश्वास थियो । सामाजिक, आर्थिक संरचनाको पिँधमा रहेको वर्गलाई माथि उठाउन योजना र नीति थियो । त्यसकै आधारमा परिवर्तन चाहनेहरूले माओवादीलाई सारथी बनाए । तर, सरकार र सत्तामा आइसकेपछि जनताका अपेक्षाअनुरूप काम गर्न सकेनौँ । अब सही नीति लिन सके हुँदा खाने र हुनेखानेबीचको विभेद मेट्दै समतामूलक नेपाल निर्माणको सपना साकार हुनेछ । 

उमिता विक, सुनसरी 
विभिन्न समयमा टुटफुट भएका माओवादी साथीहरू एकजुट हुनुपर्छ । सामाजिक र वर्गीय मुक्तिको कार्यदिशा माओवादीसँग हुनुपर्यो । चुनावदेखि चुनावसम्मको कार्यदिशाले माओवादीको पहिचान रहँदैन । कांग्रेस, एमाले र माओवादीमा के अन्तर छ र ? यो प्रश्नलाई चिरेर माओवादी परिवर्तनको शक्ति बढ्नुपर्छ । 

भवानी पन्त, जापान
महाधिवेशनले समग्र देशको नेतृत्व गर्न सक्ने नीति तय गर्नेछ । हाम्रो ध्यान नेतृत्वमा भन्दा पार्टीको आगामी नीति कस्तो बनाउने भन्नेमा छ । अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि गम्भीर  बहस गर्नेछौँ । आगामी नेतृत्व अध्यक्ष कमरेडले नै गर्नुहुनेछ । उहाँको नेतृत्वमा बलियो टिम आउने विश्वास छ । समाजवादको दिशामा सुस्पष्ट ढंगले अघि बढ्ने अवस्था बनाउन सकियो भने यो महाधिवेशनपछि माओवादी पार्टी ०६४ सालअघि जस्तो अवस्थामा पुग्नेछ । 

सावित्री अधिकारी, चितवन 
०६४ सालमा माओवादीप्रति जनउभार थियो । त्यसपछि हामी कहीँ न कहीँ चुक्यौँ । जसका कारण हामी संसदीय गणितमा खुम्चन बाध्य भयौँ । मेरो विचारमा पटक–पटक पार्टीमा आएको विभाजनका कारण कैयौँ कर्मठ र ऊर्जाशील साथीहरूलाई गुमायौँ । यस्तै, गठबन्धनका नाममा विभिन्न पार्टीसँग सहकार्य र गठबन्धन गर्न थाल्दा हाम्रो आफ्नो अस्तित्व हराउँदै गयो । परिवर्तनको संवाहक माओवादी नै भएकाले अब आउने नेतृत्वले जनताको बीचमा यो पार्टीलाई पुनः पहिलेकै अवस्थामा फर्काउँछ भन्ने विश्वास छ । 

झपटबहादुर साउद, अछाम 
संविधानसभाको निर्वाचनमा गएपछि पार्टीभित्र जुन मतभेद र विभाजन देखियो, त्यसको असरस्वरूप पहिलो संविधानसभाले संविधान जारी गर्न सकेन । माओवादीप्रतिको आकर्षण घट्नुमा यो एउटा प्रमुख कारण हो । मेरो विचारमा प्रतिगमनविरुद्धको लडाइँमा माओवादी नेतृत्वले खेलेको भूमिकाका कारण पार्टीप्रति जनविश्वास बढेको छ । अब जनमुखी कार्यक्रमहरू आवश्यक छ । अध्यक्ष कमरेड प्रचण्डको नेतृत्वमा माओवादी पार्टी नयाँ सोच, नयाँ विचार र नयाँ ऊर्जासहित आउँछ भन्ने विश्वास छ ।

रामचन्द्र महतो, सिराहा 
केही समयदेखि हामी नीति र नेतृत्वबारे अलमलमा थियौँ । महाधिवेशनमा आइपुग्दा त्यो अलमल देखिएको छैन । देशभरबाट आउनुभएका महाधिवेशन प्रतिनिधिमा उत्साह देखेको छु । हाम्रा केन्द्रीय नेताहरू उत्साहित देखिरहेको छु । अबको माओवादी जनयुद्धकालको जस्तो सशस्त्र पार्टी हुँदैन । तर, आमजनतासँगै रहेर उनीहरूका सुख–दुःखमा सहभागी हुने कार्यक्रमसहितको नीति आउने विश्वास छ । विभाजनबाट टाढिएका कमरेडहरूलाई ल्याउन सकियो, घाइते, अपांगता भएकाहरूलाई संरक्षण गर्ने पार्टी बनाउन सकियो भने आगामी दिन सुन्दर देखेको छु । 

उदयकुमार यादव (२८), धनुषा
देशलाई एकल र माओवादी केन्द्रको एजेन्डामा कसरी अगाडि बढाउने भन्ने मुख्य चुनौती पनि कमरेड प्रचण्डमाथि नै छ । अवसर पनि छ । विगतका कमजोरी सच्याउँदै हामी अघि बढ्यौँ भने समाजवादको लक्ष्य पूरा गर्न सक्ने शक्तिका रूपमा माओवादी पार्टीलाई अझ बलियो बनाउन सक्छौँ । अब अध्यक्षको दस्तावेजमाथि छलफल हुँदै छ । हामी सबैले गम्भीर अध्ययन गर्नेछौँ । आवश्यक सुधारपछि नयाँ ऊर्जा दिने पार्टी, नयाँ विचार र नेतृत्वसहित आगामी निर्वाचनका लागि तयारीमा जुट्नेछौँ । 

वीरबहादुर कुँवर (४२), जुम्ला
मुख्यतः विचार निर्माणमा महाधिवेशन केन्द्रित छ । नयाँ विचारको विकास र संश्लेषण गर्ने मुख्य कार्यभार हाम्रो अगाडि छ । त्यसैले क्रान्तिकारी पार्टी निर्माणमा जुटेका छौँ । यस्तै, सबै पूर्वमाओवादीहरूबीच एकताको आधार तयार पर्ने काम पनि गर्नेछौँ । अहिले सबै दलले समाजवादको कुरा गरिरहेका छन् । माओवादीले चाहेको समाजवाद कस्तो हो ? हामी महाधिवेशनबाट त्यसको खाका तयार पार्नेछौँ । त्यससँगै त्यो समाजवादमा पुग्न चाहिने कार्यक्रम र नेतृत्वसमेत चयन गर्दै छौँ । स्वाभाविक रूपमा अध्यक्षमा कमरेड प्रचण्ड नै आउनुहुनेछ । 

प्रस्तुति : हिमाल पौडेल/केशवप्रसाद पाण्डे 

सुझावित समाचार