आफूलाई भोट नदिनेहरूलाई पनि समेटेर पार्टी सञ्चालन गर्ने देउवाको प्रतिबद्धता

शनिबार, १० पुष, २०७८
डिजिटल संस्करण

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई भोट नदिनेहरूलाई पनि साथ लिएर पार्टी सञ्चालन गर्ने बताएका छन्। शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको निर्वाचित प्रमाणपत्र वितरण समारोहमा सभापति देउवाले सबैलाई समेटेर पार्टीलाई अघि बढाउने बताएका हुन्।

आगामी निर्वाचनमा पार्टीलाई सबैभन्दा ठूलो दल बनाउनुपर्ने चुनौती रहेको उल्लेख गर्दै उनले ती चुनौतीलाई सामना गरेर पार्टीलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। त्यसका लागि पार्टीलाई निष्पक्ष ढंगले अघि बढाउने उनले बताए। उनले त्यसका लागि आफूलाई सबैको साथ र सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे।

‘भोलिका दिनमा हाम्रा लागि ठूलो चुनौती पनि छ। स्थानीय निर्वाचनदेखि राष्ट्रिय निर्वाचनमा पनि पार्टीले जित्नुपर्नेछ। हाम्रो पार्टीले सबैभन्दा ठूलो पार्टी बन्नुछ। यो पार्टीले सच्चा मानेमा सम्पूर्ण नेपाललाई आत्मसात् गर्दै, सम्पूर्ण नेपालको प्रतिनिधित्व गर्दै यस पार्टीलाई भोलिका दिनमा जसरी तपाईंहरूले मलाई विश्वास गर्नुभो, म सबैको प्रतिनिधित्व गरेर पार्टीलाई अगाडि बढाउन लाग्नेछु। पूर्ण रूपमा सबैको सहयोग, निष्पक्ष रूपमा सबैको सहयोग, महाधिवेशनमा भोट नहाल्नेसँग पनि मलाई मतलव छैन। म सबैको सभापति हुँ । म सबैको सभापति हुने प्रयास मात्रै होइन्, त्यही गर्नेछु। मेरो जिम्मा ठूलो छ। त्यसकारण सबैलाई समावेश गरेर, सबैको सभापति बनेर, सबैको भावनाको कदर गरेर यो पार्टीलाई हाँक्न चाहन्छु। र यसमा सबैको सहयोग हुने विश्वास लिएको छु,’ सभापति देउवाले भने।

सुझावित समाचार