पछिल्लो एक सातामा नेप्से १४३.४९ अंकले वृद्धि

शुक्रबार, ९ पुष, २०७८
डिजिटल संस्करण

पछिल्लो एक सातामा सेयर बजार मापक नेप्से परिसूचक १४३.४९ अंकले वृद्धि भएको छ। गत साताको बिहीबार अन्तिम कारोबारको दिन ३७.८७ अंकले घटेर दुई हजार ३७६.७४ बिन्दुमा नेप्से परिसूचक रोकिएको थियो। पछिल्लो एक सातामा चार दिन मात्रै नेप्से कारोबार भएको छ। आइतबार सरकारले सार्वजनिक बिदा दिएको कारण सेयर कारोबार पनि बन्द भएको थियो । तर, सातामा चार दिन कारोबारमा नेप्से परिसूचक भारी अंकले वृद्धि हुँदा परिसूचकले २५ सय बिन्दु पार गरेको छ। चार दिन भएको कारोबारमा नेप्से परिसूचक १४३.४९ अंकले वृद्धि भएर दुई हजार ५२०.२३ बिन्दुमा रोकिएको छ ।

पछिल्लो एक महिनादेखि नेपाली पुँजी बजारमा ठूलो उतारचढाव आइरहेको छ। अझ अघिल्लो साता निरन्तर रूपमा परिसूचकमा गिरावट आउँदा नेप्से २३ सय अंक तल झर्न थालेको थियो । तर, गत सोमबार नेपाल राष्ट्र बैंकले आयात अत्याधिक रूपमा बढेको भन्दै वस्तु आयात गर्दा बैंक ऋण प्रयोग गर्न नपाइने तथा स्थानीय तहको सञ्चित कोषमा जाने रकमको ८० प्रतिशत निक्षेपमा गणना गर्न सक्ने व्यवस्था गरेसँगै मंगलबारदेखि सेयर बजार उकालो लागेको थियो। राष्ट्र बैंकको यस्तो व्यवस्थाले तरलता बढाउने अपेक्षा लगानीकर्ताको रहेकाले यो साता सेयर बजार उकालो लागेको देखिन्छ।

साताको पहिलो कारोबारको दिन सोमबार नेप्से परिसूचकमा १७.९३ अंकले गिरावट आएको थियो। १७.९३ अंकले गिरावट आएर परिसूचक  २,३५८.८१ बिन्दुमा झरेको थियो। तर, मंगलबार भने नेप्से परिसूचक ५६.७३ अंकले बढेर २,४१५.५५ बिन्दुमा पुगेको थियो । मंगलबार भारी अंकले बढेको नेप्से बुधबार पनि निरन्तरता पाएको थियो। मंगलबार ५६.७३ अंकले बढेको नेप्से बुधबार एकै दिन ९२.१६ अंकले बढेर २ हजार ५०७.७० बिन्दुमा पुगेको थियो । नेप्से उकालो लाग्ने निरन्तरसँगै साताको अन्तिम कारोबार बिहीबारको दिन पनि नेप्से परिसूचक १२.५३ अंकले बढेर दुई हजार ५२०.२३ बिन्दुमा पुगेर बन्द भएको छ । यो साता सबै इन्डेक्सहरू बढेका छन् ।

पछिल्लो एक सातामा नेप्से परिसूचकसँगै लगानीकर्ताको सम्पत्तिमा पनि वृद्धि भएको छ। गत साता १ खर्ब २ अर्ब ८२ करोड रुपैयाँ सम्पत्ति गुमाएका लगानीकर्ताले यो साता २ खर्ब २ अर्ब ६ करोड रुपैयाँ सम्पति बढेको छ। गत बिहीबार सेयर बजारमा रहेको लगानीकर्ताको सम्पत्ति मापक बजार पुँजीकरण कुल ३३ खर्ब ४१ अर्ब ४४ करोड रुपैयाँ रहेको थियो। यो साता २ खर्ब २ अर्ब ६ करोड रुपैयाँ सम्पत्ति बढेर ३५ खर्ब ४३ अर्ब ५० करोड रुपैयाँ कायम भएको छ।   

See More On

सुझावित समाचार