नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद् अवरुद्ध गरिरहेका वेला संसद सुचारु गरिएको भन्दै आपत्ति जनाएका छन्। मंगलबार एमालेको अवरोधबीच सभामुख अग्निप्रसाद सापकोटाले संसदको कार्यसूची अघि बढाएपछि सांसद सुवालले त्यसो गर्नु संसदीय परम्पराविरुद्ध हुने भन्दै आपत्ति जनाएका हुन्।
उनले संसद् अवरोधकै वेला एमसिसी सम्झौता पारित गर्ने काम नगर्न सभामुख सापकोटाको गम्भीर ध्यानाकर्षण गराए। उनले एमसिसी सम्झौतालाई देशघाती भन्दै खारेज गर्न माग गरे।
सांसद सुवालले भने, ‘प्रमुख प्रतिपक्षले संसद् अवरोध गरेका वेला कार्यसूची अगाडि बढाउनु संसदीय परम्परा होइन। कार्यसूची अगाडि बढाउनुहुँदैन। संसद् स्थगित गरेर प्रमुख प्रतिपक्ष दलसँग वार्ता गर्नु उपयुक्त हुन्छ। संसद् अवरोधकै वेला अध्यादेश र विधेयकहरू पेस हुनु र देशघाती एमसिसी सम्झौता पनि यसरी नै पेस गरेर पास गर्ने तयारी हुनेछ। त्यसको हामी विरोध गर्छौँ।’