तीन दिनपछि खुलेको सेयर बजार मापक नेप्से परिसूचकमा गिरावट आएको छ। आइतबार सार्वजनिक बिदाको दिन परेकाले बन्द भएको सेयर बजार सोमबार कारोबारको सुरुवातसँगै गिरावट आएको थियो। आज नेप्से परिसूचक १७.९३ अंकले घटेर दुई हजार ३५८.८१ बिन्दुमा झरेको छ।
आज ठूला कम्पनीको मूल्य मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.३४ अंकले घटेर ४५१.१९ अंकमा झरेको छ। आज पनि कारोबार रकममा खासै सुधार भएन। आज कारोबारमा आएका दुई सय ३१ कम्पनीका ५४ लाख ३९ हजार ८७ कित्ता सेयर दुई अर्ब ४६ करोड ४६ लाख ८९ हजार आठ सय ६२ रुपैयाँमा कारोबार भएको छ।
कारोबारमा आएका १३ उपसमूहमध्ये उत्पादन तथा प्रशोधन र माइक्रोफाइनान्स दुई उपसमूहको सूचकबाहेक बाँकी उपसमूहको सूचक नकारात्मक देखिएको छ। आज उत्पादन तथा प्रशोधन उपसमूहको सूचक सबैभन्दा धेरै ३.५२ प्रतिशतले बढेको छ भने विकास बैंक उपसमूहको सूचक सबैभन्दा धेरै २.२३ प्रतिशतले घटेको छ।
आज नेप्से परिसूचकमा गिरावट आए पनि हिमालयन डिस्टिलरी र गोर्खाज फाइनान्सको सेयरमूल्य १० प्रतिशतले बढेको छ। त्यस्तै, कृषि विकास बैंक, महुली सामुदायिक लघुवित्त, शिवश्री हाइड्रोपावर र जनउत्थान सामुदायिक लघुवित्तको सेयर मूल्य बढेको छ। आज धेरै मूल्य गिरावट हुनेमा माउन्टेन इनर्जी नेपाल, नारायणी डेभलपमेन्ट बैंक, मैलुङ खोला जलविद्युत् कम्पनी, तेह्रथुम पावर र समृद्धि फाइनान्सको रहेका छन्।