मकवानपुरको भीमफेदी गाउँपालिकामा जन्मिएका लोककवि गणेशलाल श्रेष्ठको सम्झनामा निर्माण गरिएको सालिक हराएको छ। आइतबार दिउँसो सालिक अनावरण गर्ने कार्यक्रम तय गरिएको थियो। शनिबार राति सालिक हराएपछि श्रेष्ठको फोटोमा माल्यार्पण गरेर अतिथिहरू फर्किए। इलाका प्रहरी कार्यालय भीमफेदी नजिक रहेको ज्योति पुस्तकालय परिसरमा श्रेष्ठको सम्झनामा अर्धकदको सालिक निर्माण गरिएको थियो।
सालिक अनावरण कार्यक्रम आज आइतबार बिहान ९ बजेलाई तय गरिएको थियो। तर, सालिक अनावरण गर्न आएका प्रमुख अतिथि पूर्वराजदूत तथा परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठसहितको टोलीले फोटोमा माल्यार्पण गरेर फर्किएका छन्। ‘काठमाडौं र हेटौँडादेखि साहित्यकारहरू, जनप्रतिनिधिहरू सालिक अनावरण गर्न आउनुभएको थियो। उहाँहरू सालिक हराएपछि कवि श्रेष्ठको फोटो राखेर माल्यार्पण गरेर फर्किनुभयो,’ सालिक निर्माण समितिका विष्णुगोपाल महर्जनले भने।
भीमफेदी गाउँपालिका उपाध्यक्ष पार्वती रानाका अनुसार शनिबार राति ९ बजेसम्म सालिक थियो। कार्यक्रमका लागि आइतबार बिहान स्थानीयले पुस्तकालय परिसर सरसफाइ गर्न जाँदा सालिक हराएको थाहा पाएको रानाले बताइन्। श्रेष्ठको सालिक राखिएको ज्योति पुस्तकालय परिसरमा भगवानका प्रतिमाहरू पनि राखिएका छन्।
यसअघि सालिक निर्माणबारे छलफल हुँदा भगवानको मूर्ति भएको स्थानमा व्यक्तिको सालिक राख्नु उपयुक्त नहुने भन्दै आवाज उठेका स्थानीयले बताए। स्थानीयका अनुसार नेवार समुदायले श्रेष्ठको सालिक स्थापना गर्न लगाएको भन्दै फरक समुदायका व्यक्तिले असहमति राख्दै आएका थिए।
सालिक चोरी गर्नेलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, उपाध्यक्ष रानासहित, साहित्यकार र भीमफेदीवासीले प्रहरीको ध्यानाकर्षण गराएका छन्। इलाका प्रहरी कार्यालयले ५–७ जनाको समूहले सालिक चोरी गरेको आशंका गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले सालिक चोरीबारे अनुसन्धान अघि बढाइएको र प्रहरी टोली खटाइएको बताए।
भीमफेदीमा विसं. १९६८ मा जन्मिएका कवि श्रेष्ठले दुई थुंगाको फूल, मेरो पुष्पाञ्जलीलगायतका नेवारी भाषामा गीत लेखेका थिए। उनको २०४२ सालमा निधन भएको थियो।