प्रधानमन्त्री शेरबहादुर देउवाले मौलिक नेपाली सभ्यतालाई संरक्षण गरी जीवन्त राख्नु सरकारको साझा दायित्व भएको बताएका छन्। राष्ट्रिय ज्यापु दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्।
उनले काठमाडौं उपत्यकामा संस्कृति र सम्पदाको संरक्षण गर्न ज्यापु समुदाय लागिपरेको उल्लेख गर्दैै ज्यापु समुदायलाई आवश्यक सहयोग गर्न सरकार तयार रहेको बताए। साझा मौलिक संस्कृति, परम्पराले अनेकतामा एकताको भावना सिर्जना गरेको भन्दै उनले कला, संस्कृति र सम्पदाको विकासमा लाग्नुपर्ने बताए।
‘नेपालको भौगोलिक, जैविक विविधता, प्राकृतिक र संस्कृतिक सम्पदा र सामाजिक बनावट विश्वभरमै नमुनाको रूपमा रहिआएको छ। विभिन्न जातजाति, भाषाभाषी, सांस्कृतिक समूहहरूको सहअस्तित्व, साझा परम्परागत मौलिक संस्कृति र सभ्य नेपाली पहिचान तथा गौरवपूर्ण सभ्यतालाई संरक्षण गरी जीवन्त राख्नु हाम्रो साझा दायित्व हो। यिनै साझा मौलिक संस्कृति, परम्पराले अनेकतामा एकताको भावना सिर्जना गर्दै राष्ट्रिय एकता र अखण्डतालाई सुरक्षित बनाएको छ। नेपालको विभिन्न समुदायमध्ये ज्यापु समाज आफ्नै मौलिक संस्कृति, सम्पदा र पहिचान बनेको समाज हो। यो समाजले नेवार समुदायभित्र आफ्नो मौलिक कला, संस्कृति र सीपका कारण विशिष्ट स्थान बनाएको छ। काठमाडौं उपत्यकाको कला, संस्कृति, सम्पदाको विकासमा ज्यापु समुदायको उल्लेख्य योगदान रहेको छ,’ प्रधानमन्त्री देउवाले भने।