नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा उम्मेदवार रहेका पदाधिकारी एवं केन्द्रीय सदस्यको मतगणना आजैदेखि सुरु गर्नेबारे निर्णय लिन निर्वाचन समितको बैठक बसेको छ। निर्वाचन समितिले आज बिदा गरी बिहीबारदेखि पदाधिकारीको मतगणना सुरु गर्ने तयारी गरेको थियो। उम्मेदवार रहेका पार्टी नेताको आग्रहपछि आजैदेखि मतगणना सुरु गर्न निर्वाचन समितिले पार्टी नेतासहितको बैठक बसेको समितका सचिव जगन्नाथ श्रेष्ठले बताए।
मतगणनाको आचारसंहितालगायत विषयमा छलफल एवं निर्णयपछि गणना सुरु हुनेछ। पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा गरिने पनि उनले जानकारी दिए। सोमबार नै निर्वाचन सकिएपछि पदाधिकारी र केन्द्रीय सदस्यको मतपेटिका पार्टी केन्द्रीय कार्यालयमा राखिएको छ।
पहिलो चरणमा सभापति पदको मतगणना मंगलबार राति सम्पन्न भएको थियो। सभापतिमा पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत पाउन नसकेपछि मंगलबार दिउँसोदेखि बढी मत पाउने शेरबहादुर देउवा र डा. शेखर कोइरालाकाबीच दोस्रो चरणको मतदान भएको थियो। दोस्रो चरणको मतदानपछि दोस्रो कार्यकालका लागि प्रधानमन्त्रीसमेत रहेका देउवा पार्टी सभापतिमा निर्वाचित भएका छन्।