प्रविधिप्रतिको अविश्वासले भोट हाल्न पानीट्यांकीमा प्वाल !

आइतबार, २६ मंसिर, २०७८
डिजिटल संस्करण

कांग्रेसको १४औँ महाधिवेशनअन्र्तगत शनिबार उम्मेदवारी मनोनयनको काम सकियो। आज आइतबार मनोनयन फिर्ता र अन्तिम नामावली प्रकाशनपछि सोमबार (२७ मंसिर) सभापतिसहित १३४ पदाधिकारी चयन गर्न मतदान हुनेछ। मनोनयनसँगै कांग्रेसले मतदानका लागि हरियो रंगका पानीट्यांकीको प्रबन्ध गरेको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिले मतदानका लागि भृकुटीमण्डप र राष्ट्रिय सभागृहमा ट्यांकी जम्मा गरेको छ।

निर्वाचन समिति सचिव जगन्नाथ श्रेष्ठ समितिले सोमबार मतदानका लागि ती ट्यांकी जम्मा गरेको बताउँछन्। समितिले ट्यांकीको बिर्कोमा भोट खसाल्न मिल्ने गरी प्वाल पारेको छ। ‘हामीले मतदानका लागि ल्याएका हौँ। सयौँको संख्यामा यस्ता पानीट्यांकी प्रयोग हुनेछन्,’ श्रेष्ठले नयाँ पत्रिकासँग भने।

कांग्रेसले महाधिवेशनमा कागजी मतदान प्रक्रियालाई नै अवलम्बन गरेको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यो महाधिवेशनमा डिजिटल मतदानको चर्चा चले पनि प्रयोगमा आउन नसकेको बताए। उनका अनुसार कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले नेतृत्वसँग डिजिटल प्रविधि प्रयोगको प्रस्ताव गरेको थियो। ‘प्रचार विभागले दुई महिनाअघि नै पार्टी नेतृत्वसँग हामी विद्युतीय मतदानका लागि तयार हुनुपर्छ भनेर प्रस्ताव गरेको थियो,’ उनले नयाँ पत्रिकासँग भने।

भर्खरै सम्पन्न नेकपा (एमाले)को दशाैँ महाधिवेशनमा विद्युतीय भोटिङ मेसिनमार्फत नेतृत्व चयन गरिएको थियो। तर, कांग्रेसमा शीर्ष नेतृत्वले प्रविधिलाई विश्वास गर्न नसक्दा पुरानै मतदान प्रणालीमार्फत नेतृत्व चयन गर्नुपर्ने अवस्था आएको छ। ‘कांग्रेसमा पुरानो सोच भएका नेताहरूका कारण प्रविधिलाई विश्वास गर्ने अवस्था रहेन,’ महाधिवेशन व्यवस्थापनमा सक्रिय एक नेताले भने, ‘विद्युतीय भोटिङ मेसिनलाई विश्वास गर्न नसक्दा मतदान गर्न, मतगणना गर्न र दोहो–याएर निर्वाचन गर्नुपर्ने अवस्थामा प्रशस्त समय जानेछ।’

कांग्रेसले केन्द्रीय पदाधिकारीको निर्वाचनका लागि २९ प्रकारका मतपत्रको व्यवस्था गरेको छ। कांग्रेसका सूचना अधिकारी केशव रिजालका अनुसार उम्मेदवार संख्या र पदअनुसारका आकार र रंगका मतपत्रको व्यवस्था हुनेछ। मतदानमा चार हजार ७४३ प्रतिनिधि सहभागी हुनेछन्।

निर्वाचन गर्नुपर्ने पदको संख्या बढी भएकाले मतपत्रको संख्या बढी भएको र एक मतदातालाई एक घन्टाभन्दा बढी समय लाग्ने अनुमान गरिएको सूचना अधिकारी रिजालले बताए। निर्वाचित हुनुपर्ने पदसंख्या धेरै भएकाले २९ वटा छुट्टाछुट्टै मतपत्रमा मतदान गर्नुपर्ने हुन्छ’ रिजालले नयाँ पत्रिकासँग भने, ‘एक मतदातालाई ३० मिनेटदेखि एक घन्टाभन्दा बढी समयसम्म लाग्ने अनुमान छ। पाँच हजार प्रतिानिधि मतदानमा सहभागी हुनेछन्। तीन स्थानमा बाँडेर मतदान गरिनेछ। कागजको मतपत्रमा स्वस्तिक छाप लगाएर नै मतदान हुन्छ।’

सुझावित समाचार