कांग्रेस नेता डा. शेखर कोइरालाले पार्टी र देशलाई बेहाल अवस्थाबाट मुक्त गराउन आफूले महाधिवेशनमा सभापतिको उम्मेदवारी दिएको बताएका छन् । पार्टीको जारी १४औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएपछि कोइरालाले आफ्नो सभापतिसहितको प्यानल विजयी हुने अनि पार्टीलाई नयाँ सोच, विचार र कार्यक्रमका साथ अघि बढाउने बताए ।
५१ प्रतिशतभन्दा बढी युवाहरू महाधिवेशनका प्रतिनिधि भएकाले पहिलो चरणको निर्वाचनबाटै आफूहरूको प्यानल विजयी हुने उनको भनाइ छ । कोइरालाले पार्टीलाई युवाहरूको जोस र पाकाहरूको होसका साथ अघि बढाउने पनि बताए ।
उनले भने, ‘देशको अवस्था बेहाल छ । पार्टीको अवस्था लथालिंग छ । नयाँ सोच, विचार र कार्यक्रम लिएर अघि बढछौँ । युवाहरूको जोस र पाकाहरूको होसले पार्टीलाई अगाडि बढाउँछौँ । आफूले युवाहरूसहितको प्यानल बनाएको र महाधिवेशनमा ५१ प्रतिशतभन्दा बढी प्रतिनिधिहरू युवा भएकाले आफूहरूको प्यानल नै विजयी हुनेछ ।’