गगन थापाको अवधारणापत्र : ‘हाम्रो ध्येयः समुन्नत नेपाल, सम्मानित नेपाली’

शुक्रबार, २४ मंसिर, २०७८
डिजिटल संस्करण

१४औँ महाधिवेशनमा महामन्त्रीका लागि उम्मेदवारी दिने तयारी गरेका कांग्रेस नेता गगन थापाले आफ्नो अवधारणापत्र सार्वजनिक गरेका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा बिहीबार थापाले ‘पार्टी पुनर्जागरण र रूपान्तरणको प्रस्ताव’ सार्वजनिक गरेका हुन् । 

उनले आफ्नो अवधारणापत्रमा ‘हाम्रो ध्येय : समुन्नत नेपाल, सम्मानित नेपाली’ भन्ने नारा राखेका छन् । आफ्नै सक्रिय जीवनकालमा प्रत्येक नेपाली समुन्नत नेपालको नागरिक भएर सम्मानित जीवन बाँच्ने र विश्वसामु खुसी राष्ट्रको प्रतिष्ठित नागरिक बनाउने विषय उनले अवधारणापत्रमा राखेका छन् । अवधारणापत्र सार्वजनिक गर्दै उनले आफ्नो राजनीति यही उद्देश्य प्राप्तिका लागि समर्पित रहने बताए । 

‘हामीले जनआन्दोलनपछि सबै ठीक हुन्छ भन्यौँ, तर भएन । त्यसपछि संविधानसभा निर्वाचन, संविधान निर्माण, नयाँ संविधानअनुसार राज्यको पुनर्संचना भएपछि ठीक हुन्छ भन्यौँ,’ उनले भने, ‘तर, जनतामाझ गरिएका वाचा पूरा भएनन् । राज्यका निकाय कमजोर बने । पार्टीभित्र बसेर अझ योगदान दिनका लागि अघि बढ्न खोजेको हुँ । जनताको अवस्था र जीवनस्तर बदल्न सक्छौँ ।’

जनताले आगामी निर्वाचनमा कांग्रेसलाई रोज्न र छान्न सक्ने बनाउन आफूले महामन्त्रीमा उम्मेदवारी दिने निर्णय गरेको थापाको भनाइ थियो । ‘अब चुनाव जितिन्छ, जितिन्छ भनेर भाषण गर्नै पर्दैन । चुनाव आफैँ जितिन्छ, आफैँ आउँछन् मतदाता । लाइन लागेर आउँछन् । कांग्रेसलाई छान्न आउँछन्, रोज्न आउँछन्,’ उनले भने, ‘छान्न मन लाग्ने, रोज्न मन लाग्ने र जोडिन मन लाग्ने कांग्रेस बनाउने हो । त्यो कांग्रेस हाम्रो मिसनले बनाउँछ, कार्यक्रमले बनाउँछ ।’

उनले महामन्त्रीको अर्को काम पार्टीको व्यवस्थापन पनि हुने बताए । आफू महामन्त्री भए कांग्रेसलाई देख्न, सुन्न र बुझ्न सक्ने पार्टीका रूपमा स्थापित गराउने थापाको दाबी छ । उनले महामन्त्रीका रूपमा आफूले कांग्रेसलाई प्रश्न होइन, उत्तर दिने, समस्या होइन, समाधान दिन सक्ने पार्टी बनाउने संकल्प लिएको बताए ।

सुझावित समाचार