कांग्रेसको १४औँ महाधिवेशन : संस्थापनइतरलाई साझा उम्मेदवार छान्न सकस

आज केन्द्रीय सदस्यहरूको राय लिँदै

मंगलबार, २१ मंसिर, २०७८
डिजिटल संस्करण

संस्थापनइतर समूह एक हुन नसक्दा चारै नेताले आफूलाई सभापतिको उम्मेदवारका रूपमा प्रस्तुत गर्दै आइरहेका छन्

१४औँ महाधिवेशनको पूर्वसन्ध्यामा संस्थापनइतर पक्षलाई सभापतिको साझा उम्मेदवार तय गर्न सकस देखिएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्व गरेको इतर समूहका नेताहरूले आ–आफ्नो दाबी नछाडेपछि साझा उम्मेदवार तय गर्न सकस परेको हो । 

सोमबार वरिष्ठ नेता पौडेलनिवास बोहोराटारमा बसेको बैठकले पनि कसलाई उठाउने भन्ने टुंगो लगााउन सकेन । सोमबार साँझ साझा उम्मेदवार तय गर्न वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, नेता प्रकाशमान सिंह र शेखर कोइरालाबीच छलफल भएको थियो । साझा उम्मेदवारको विषय टुंगो नलागेपछि मंगलबार आफूपक्षीय केन्द्रीय सदस्यहरूलाई बोलाएर राय लिने समझदारी भएको छ । 

वरिष्ठ नेता पौडेलका अनुसार सोमबारको बैठकमा सभापति शेरबहादुर देउवाको विकल्पमा जसरी पनि साझा उम्मेदवार तय गर्नेबारे छलफल भएको थियो । ‘मैले तपाईंहरू मिलेर आए सहयोग गर्न तयार छु । होइन भने म सभापतिको उम्मेदवार बन्छु, तपाईंहरू सहयोग गर्नुहोस् भनेँ,’ चार नेताबीचको छलफलबारे जानकारी दिँदै पौडेलले नयाँ पत्रिकासँग भने, ‘सभापति शेरबहादुर देउवाबाट फिर्ता ल्याएर तीनवटै चुनावमा पार्टीलाई जिताएर तपाईंहरूलाई जिम्मा लगाउँछु । सहयोग गर्नुहोस् भनेँ । तर, बैठकमा नेता सिंहले आफू पहिले पहिले पनि त्याग गरेको भन्दै अडानबाट पछि नहटेपछि भोलि फेरि छलफल गर्ने गरी उठ्यौँ ।’ 

सबै आ–आफ्नै अडानमा रहेपछि शेखर कोइरालाले सभापतिमा आकांक्षीमध्ये कसलाई अघि सार्ने भन्ने जनमत बुझ्न प्रस्ताव गरेका थिए । सोही प्रस्तावअनुसार मंगलबार संस्थापनइतर पक्षले आफूपक्षीय केन्द्रीय सदस्यहरूको भेला बोलाएको छ । 

‘जनमत कसको पक्षमा छ भनेर बुझ्न मंगलबार केन्द्रीय सदस्यहरूको बैठक बोलाउने सल्लाह भएको छ । दिउँसो १ बजे नेता सिंहको निवास चाक्सिबारीमा बस्दै छौँ,’ पौडेलले भने । उनले केन्द्रीय सदस्यको राय बुझेपछि थप निर्णय गर्ने बताए । 

इतर समूह एक हुन नसक्दा चारै नेताले आफूलाई सभापतिको उम्मेदवारको रूपमा प्रस्तुत गर्दै आइरहेका छन् । मंगलबार नै नेता सिंहले सभापतिको दाबेदारका रूपमा महाधिवेशन तयारीका लागि सम्पर्क कार्यालय खोल्ने भएका छन् । 

सुझावित समाचार