नागरिकका ऐतिहासिक सुझाव सिंहदरबारभित्रै नष्ट हुँदै

मंगलबार, २१ मंसिर, २०७८
डिजिटल संस्करण
नागरिकका ऐतिहासिक सुझाव सिंहदरबारभित्रै नष्ट हुँदै

संविधान निर्माणका वेला संकलन गरिएका नागरिकका सुझाब सिंहदरबारस्थित संसद् सचिवालयले बोरामा कोचेर ओसिलो कोठामा फालेको छ ।

संविधानमा राख्न नागरिकले दिएका पाँच लाख ८२ हजार १८१ सुझाव मुसाले धुजाधुजा बनाउँदै

सिंहदरबारभित्रको पुरानो संसद् भवनको पछाडिका कोठाहरूमा विभिन्न संसदीय समितिका बैठक बस्थे । ०७२ भूकम्पमा भवन चर्कियो । पछि त्यहाँ कर्मचारीसमेत जान डराउन थाले । ती कोठामा अहिले बिजुलीको पहुँच छैन, पानी रसाइरहने भएकाले चिसो र ओसिलो छ । प्रयोग गर्न अयोग्य लागेर संसद् सचिवालयले ती कोठालाई ‘डम्पिङ साइट’ बनाएको छ, जहाँ पुराना कम्प्युटर, भाँचिएका फर्निचर, सुटकेस, बिजुलीका तारलगायत सामग्रीका साथै बोराका खातैखात थुपारिएका छन् । 

मुसाले बोरा मात्रै काटेको छैन, भित्रका कागजपत्र बाहिरसम्म ल्याएर टुक्रा–टुक्रा पारेको छ, बाँकी पानीको ओसले मक्किएको छ । यिनै बेवारिसे कागजातभित्र संविधानलेखनको समयमा नागरिकले दिएका पाँच लाख ८२ हजार एक सय ८१ सुझाव असरल्ल छन् । संविधानमा जनताको भावना समेट्ने भन्दै पहिलो र दोस्रो संविधानसभामा देशैभरिबाट संकलन गरिएका सुझाव नष्ट हुँदै छन् । 

सीमित समयमा नागरिकले उत्साहित हुँदै विभिन्न प्रश्नावली समेटिएको फारममा आफ्नो राय लेखे । उतिवेला दलहरूले आफ्नो विचार हाबी गराउँदै संविधानभित्र जनताको सुझावलाई ठाउँ दिएनन् । जनताले भरेका फारमसमेत सुरक्षित राख्न कठिन भएको छ । इतिहासमा खोजी बन्न सक्ने जनताको मतको सुरक्षामा संसद् सचिवालयलाई खासै चिन्ता छैन । 

संविधान निर्माणमा सहभागी पहिलो र दोस्रो संविधानसभाका सभासद्हरूले आफूले संकलन गरेका सुझावको सम्पूर्ण सुरक्षा गर्न आग्रह गरेका छन् । संविधानमा नागरिकहरूका मत नसमेटिए पनि इतिहासमा रेकर्ड मेटाउन नहुने उनीहरूको भनाइ छ । 

पूर्वप्रधानमन्त्री तथा दोस्रो संविधानसभाका संवैधानिक तथा राजनीतिक संवाद समितिका सभापति बाबुराम भट्टराई संविधान निर्माण प्रक्रियामा भएका सबै कागजातलाई सुरक्षित राख्नुपर्ने बताउँछन् । ‘नेपालको इतिहासमा पहिलोपटक संविधानसभाबाट संविधान बनाएकाले त्यसक्रममा भएका छलफल, बहसनोट, जनताको अभिमत जोगाएर हामीले राख्नैपर्छ,’ भट्टराईले नयाँ पत्रिकासँग भने ।

पहिलो संविधानसभा संवैधानिक समितिका सभापति नीलाम्बर आचार्यले संविधानसभाका क्रियाकलापको ऐतिहासिक महत्वको हुने भएकाले त्यसलाई सुरक्षित राख्न सुझाव दिए । ‘त्यतिवेलाका हरेक रेकर्ड सुरक्षित हुनुपर्छ । नागरिकबाट ल्याइएको सुझावहरूको ‘हार्डकपी’ नै सुरक्षित राख्नुपर्‍यो । त्यसको ‘डिजिटलाइज’ पनि गर्नुपर्छ,’ आचार्यले नयाँ पत्रिकासँग भने ।

सबै सुझावलाई सचिवालयले पुस्तकालय वा संग्रहालयमा राख्नुपर्ने माग गर्छिन् संविधानसभा सदस्य तथा हाल प्रतिनिधिसभा सदस्य दुर्गा पौडेल । उनी भन्छिन्, ‘हामीले गाउँगाउँमा गएर नागरिकका आवाज लिएर आएका थियौँ । त्यसलाई संसद् सचिवालयले बेवास्ता गर्न मिल्दैन । संविधानमा नागरिकले के सुझाव दिएका थिए भनेर भविष्यमा पनि थाहा पाउनुपर्‍यो नि ! देशैभरिबाट ल्याइएका ती सुझावलाई संसद्ले पुस्तकालयमा राख्नुपर्छ । संग्रहालयमा सुरक्षित गर्नुपर्छ ।’

त्यस्तै, हाल राष्ट्रिय सभा सदस्य तथा पूर्वसभासद् जितेन्द्रनारायण देव पनि त्यतिवेला संकलन गरिएका सुझाव सुरक्षित राख्न सचिवालयलाई सुझाउँछन् । उनले नयाँ पत्रिकासँग भने, ‘त्यतिवेलाका सम्पूर्ण सामग्री सुरक्षित राख्नुपर्छ । जनताबाट ल्याइएका सुझाव, अडियो, भिडियोलगायत जति पनि सामग्री छन्, त्यसलाई जोगाउनुपर्छ । यस विषयमा संविधानसभा सचिवालय, सरकार, राजनीतिक दल र अहिलेको संघीय संसद् सचिवालयको ध्यान जाओस् ।’

दुवै संविधानसभाका पूर्वसभासद् किरण यादवले पहिलो संविधानसभामा स्याङ्जा र दोस्रोमा महोत्तरी पुगेर सुझाव ल्याएकी थिइन् । त्यसलाई भावी पुस्ताका लागि पनि सुरक्षित राख्नुपर्ने उनको बुझाइ छ । ‘हामीले जनताको मतलाई गाउँगाउँ पुगेर ल्याएका थियौँ । हाम्रो संविधान बनाउँदाको यस्तो महत्वपूर्ण रेकर्ड भावी पुस्ताका लागि पनि सुरक्षित राख्नुपर्छ । त्यो पछि पनि काम लाग्छ,’ उनले भनिन् । 

पूर्वसभासद् योगेन्द्र चौधरी संविधान बन्ने प्रक्रियाका सबै दस्ताबेज नेपालको इतिहासको महत्वपूर्ण सम्पत्ति भएकाले त्यसलाई जोगाउन ध्यान नदिनु गैरजिम्मेवारी भएको प्रतिक्रिया दिन्छन् । ‘संविधान बनाउँदा के प्रश्न उठ्यो, नागरिकले के चाहेका थिए, ती कति सम्बोधन भए भन्ने कुरा भोलिका दिनमा पनि हेर्न पाउनुपर्छ । त्यसको दस्ताबेजीकरण हुनुपर्छ । जनताको नासोलाई अलपत्र छाड्नु सचिवालयको गैरजिम्मेवारीपन हो,’ उनले नयाँ पत्रिकासँग भने ।

त्यस्तै, पूर्वसभासद् टेकबहादुर बस्नेतले त आफूले संकलन गरेको सुझावको डिजिटल कपी बनाई सुरक्षित राखेका छन् । उनले सचिवालयले पनि हार्ड कपी राख्न नसके पनि डिजिटल कपी बनाउन सुझाव दिन्छन् । ‘अहिले अनेक प्रविधि आएको छ, त्यसको प्रयोग गरेर ती सुझावलाई संसद् सचिवालयले जोगाउनुपर्छ,’ उनी भन्छन् । 

त्यस्तै, पूर्वसभासद् राधादेवी तिमल्सिनाले बैतडी र दार्चुला पुगेर सुझाव संकलन गरी ल्याएकी थिइन् । उनी पनि सचिवालयले नागरिकका सुझावलाई सुरक्षित राख्नुपर्ने सुझाव दिन्छिन् । 

देशको इतिहासका यस्ता महत्वपूर्ण कागजातको हरिबिजोगबारे संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डे भन्छन्, ‘हामी व्यवस्थापनबारे छिटै निर्णय लिन्छौँ । सुझावका पोकाहरू अहिलेसम्म भण्डारण गरिएको छ । यसको प्रयोग संविधान बन्ने क्रममै भइसकेको छ । यसलाई लामो समयसम्म सुरक्षित राख्न सक्ने अवस्था छैन । बरु, वर्गीकरण गरेर केही सुरक्षित राख्ने र केही धुल्याउने बाटोमा जाँदा ठीक हुन्छ । यसलाई सचिवालयले छिटै टुंग्याउँछ ।’

कसरी संकलन भएको थियो सुझाव ?
पहिलो संविधानसभाले संविधान जारी नगरी विघटन भएपछि दोस्रो संविधानले एक वर्षभित्रै संविधान जारी गर्ने कार्यतालिका बनाएको थियो । जसमा संविधानको प्रारम्भिक मस्यौदामाथि जनताको सुझाव संकलन र छलफलका लागि चार महिना छुट्याइयो । त्यसमा ९ माघ ०७० मा दोस्रो संविधानसभाको पहिलो बैठक बसेको मितिबाट एक वर्षभित्र संविधान जारी गर्ने भनिएकोमा ०७१ असोज मसान्तभित्र संविधानको पहिलो मस्यौदा जनताको राय लिन प्रकाशन गर्ने कार्यतालिका थियो । ०७१ कात्तिक मसान्तसम्ममा जनताको राय–सुझावको प्रतिवेदन तयार पारेर मंसिर मसान्तभित्र प्रतिनिधिसभामा पेस गरी छलफल गर्ने र पुस मसान्तसम्म राय–सुझाव समेटी परिमार्जित विधेयक संविधानसभामा पेस गर्ने भनिएको थियो । 

तर, कार्यसूचीमा उल्लेखित सबै समय–तालिकाको समय दलहरूबीचका असमतिका लागि छलफल गर्न खर्चिएपछि ४ र ५ साउन ०७२ मा मात्रै सभासद्हरू सुझाव संकलन गर्न निस्किए । 

नागरिकहरूसँग शासकीय स्वरूप, नागरिकता, मौलिक हक, कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका, राष्ट्रिय गान, निसाना छाप, आयोगलगायत थुप्रै विषयमा सुझाव माग गरिएको थियो । प्रश्नावली समेटिएको फारममा उनीहरूले आफ्नो मत व्यक्त गरेका थिए ।

संविधानसभामा तत्काल कायम रहेका पाँच सय ९७ जना सांसद सुझाव संकलनका लागि आफूले जिम्मेवारी पाएको जिल्लामा पुगेका थिए । त्यसमा संविधानलेखन प्रक्रियामा समेत सधैँ व्यस्त रहेर समय नदिने शीर्ष दलका कतिपय नेतासमेत औपचारिकता निभाउन आ–आफ्ना निर्वाचन क्षेत्रमा पुगे । दलको कार्यविभाजनअनुसार उनीहरूले ७५ जिल्लाका दुई सय ४० निर्वाचन क्षेत्रमा ४ र ५ साउनमा उपस्थित भई सार्वजनिक सुनुवाइलगायत कार्यक्रम सञ्चालन गरेका थिए । त्यतिवेला ७५ जिल्लाबाट डेढ लाख सुझाव आएको थियो ।

देशभित्र मात्रै होइन, विदेशबाट समेत सुझाव संकलन गरिएको थियो । कूटनीतिक नियोगको समन्वय र सहकार्यमा विदेशमा बसोवास गरेका नेपालीको राय–सुझाव इमेल, वेबसाइट र परराष्ट्र मन्त्रालयमार्फत लिइएको थियो । डिजिटल माध्यमबाट त्यतिवेला साढे ३३ हजार सुझाव आएको थियो । 

विघटन भएको पहिलो संविधानसभाले पनि नागरिकबाट झन् धेरै सुझाव संकलन गरेको थियो । संविधानसभाका सदस्यहरू, कर्मचारीहरू तथा स्थानीय तहका कर्मचारीसमेत सम्मिलित विभिन्न ४० वटा टोलीले देशभर सुझाव संकलन गरी ल्याएका थिए । 

त्यो टोली १६ फागुन ०६५ देखि ९ चैत ०६५ सम्म देशका दुई सय ४० वटै निर्वाचन क्षेत्रमा पुगेर सुझाव संकलन गरेका थिए । त्यतिवेला सुझावहरू अध्ययन गरेको नागरिक समन्वय समितिको प्रतिवेदनअनुसार चार लाख २८ हजार सुझाब आएको थियो ।

‘संविधानसभा सचिवालयले यस प्रयोजनका लागि विभिन्न समितिले बनाएका प्रश्नावलीको लाखौँ प्रति छपाएर जिल्ला–जिल्लामा पठाएको थियो,’ संसद् सचिवालयबाट प्रकाशित ‘संविधानसभा’ पुस्तकमा उल्लेख छ ।

तर, त्यसरी संकलन गरिएका सुझावमाथि संविधानलेखनको महत्वपूर्ण समयमा आवश्यक छलफल गर्ने र संविधानलेखनमा अटाउन प्रक्रियामै दलहरू गएनन् । दोस्रो संविधानसभाले विधि र प्रक्रिया नपुर्‍याई हतारमा संविधान जारी गरेकाले जनताको मत समेटिएका कति सुझाव त खोल्दा पनि खोलिएन । त्यसमा भट्टराईलाई दुखेसो छ । ‘म आफैँ गोरखा पुगेर जनताको मत नोट गरेको थिएँ । देशैभरिबाट जनताले सुझाव दिएर पठाएका थिए । त्यसको व्यवस्थित ढंगले हामीले ‘प्रोसेसिङ’ गरेर उपयुक्त विषय संविधानमा समेट्नेतिर जानुपथ्र्यो । तर, त्यो काम व्यवस्थित ढंगले भएन । कतिपय सुझाव त खोल्दा पनि खोलिएन ।’

संविधान बनाउँदा नागरिकका सुझावभन्दा दलीय भागबन्डा हाबी हुँदा नागरिकका विचारले सुझाव फारममा मात्रै स्थान पाए । तर, त्यसरी संकलन गरिएका फारमले अध्ययन र रेकर्डको इतिहासमा समेत ठाउँ नपाउने खतरा बढेको छ ।

सुझावित समाचार