नेकपा (माओवादी केन्द्र)का प्रवक्ता कृष्णबहादुर महराले आगामी निर्वाचनमा आफूहरूको पार्टी पहिलो दल हुने बताएका छन्। उत्तरी रसुवाको आमाछोदिङ्मो गाउँपालिकास्तरीय पार्टीको प्रथम सम्मेलनको आइतबार शुभारम्भ गर्दै उनले अहिले पार्टी दुब्लाएजस्तो देखिए पनि आगामी निर्वाचनमा ०६४ सालकै अवस्थामा फर्कने दाबी गरे।
अन्य पार्टीमा जस्तो यस पार्टीमा आन्तरिक कलह नभएको भन्दै उनले आदिवासी, जनजाति, घले, गुरूङ, सबैक्षेत्रको बृहत्तर हितका लागि आफ्नो पार्टी निरन्तर अगाडि बढ्ने बताए। माओेवादीले ल्याएको जनहितकारी एजेन्डा पूरा गर्न बाँकी रहेकाले आफ्नो दललाई विजय गराउन उनले स्थानीय समुदाय माझ आग्रह गरे।
टुक्रिएर गएका डा. बाबुराम भटृराई, मोहन वैद्य किरण, विप्लवसमेतका साथीहरुलाई एकता गराउन सौहार्दपूर्ण वातावरणमा वार्ता अगाडि बढिसकेको उनले बताए। रसुवा जिल्लामा पनि अन्यत्र गएका सबै साथी छिट्टै मूलघारमै प्रवेश गरी माओवादीलाई अत्यधिक मत दिएर उचाइमा पु–याउने महराले विश्वास व्यक्त गरे।
उद्घाटन सत्रमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने ५२ कार्यकर्तालाई सम्मान गरिएको थियो। महराले आइतबार नै रसुवागढी नाकाको समेत स्थलगत अवलोकन गर्नाका साथै कोरोना संक्रमणका कारण उत्पन्न असरका बारेमा समेत जानकारी लिएका छन्। रासस