कांग्रेस गण्डकी प्रदेश अधिवेशन उद्घाटन समारोहमा पौडेल पक्षको नाराबाजी (भिडियोसहित)

बिहिबार, १६ मंसिर, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत बिहीबारदेखि सुरु प्रदेश अधिवेशनकाे गण्डकी प्रदेशमा अधिवेशन उद्घाटनका क्रममा नाराबाजी भएको छ । संस्थापन (देउवा) पक्षले कार्यक्रम कब्जा गर्न खोजेको भन्दै संस्थापन इतरपक्षका कार्यकर्ता र नेताले कार्यक्रममा नाराबाजी गरेका हुन् । कास्कीका निवर्तमान सभापति कृष्ण केसीले सञ्चालन गरेको कार्यक्रममा संस्थापन पक्षका प्रदेश सभापति पदका उम्मेदवार अर्जुन जोशीलाई मात्र बोल्न दिएको भन्दै इतरपक्षले विरोध गरेको हो । 

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेता गोपालमान श्रेष्ठलगायतका नेताहरू सहभागी कार्यक्रममा पूर्वमन्त्री यज्ञबहादुर थापाले केही समय माइक कब्जा गर्दै ‘विपी कोइराला, गणेशमान र किसुनजी सहभागी कार्यक्रममा वक्ता रहने यज्ञबहादुरलाई मञ्च नदिने’ भन्दै आक्रोश पोखे । 

संस्थापन इतरसमूहका कार्यकर्ताले नेता गोपालमान श्रेष्ठले सत्ता र शक्तिको दुरुपयोग गर्न खोजेको भन्दै सबै उम्मेदवारलाई बोल्न दिनुपर्ने भन्दै नाराबाजी गरे । नाराबाजी र होहल्लाले प्रभावित उद्घाटन सत्र अहिले सबै उम्मेदवारलाई बोल्न दिने भनेपछि सुचारु भएको छ । त्यसलगत्तै बोलेका सभापति पदमा उम्मेदवारी घोषणा गरेका नेता देवराज चालिसेले सत्ता र शक्तिको भरमा पार्टी कब्जा गर्न खोजिएको भन्दै आक्रोश पोखे । 

गण्डकी प्रदेश सभापति पदका लागि संस्थापन पक्षबाट केन्द्रीय सदस्य अर्जुन जोशीले उम्मेदवारी दिने निर्णय भइसकेको छ । संस्थापन इतरपक्षबाट पाँचजनाले उम्मेदवारी दिने अडान लिएका छन् । संस्थापन इतरपक्षबाट कास्कीका शुक्रराज शर्मा, यज्ञ थापा, देवराज चालिसे, तनहुँका रघुनाथ पौडेल र नवलपुरका नेता महेन्द्रध्वज जिसी अकांक्षी छन् । 

सुझावित समाचार