जबरालाई महाभियोग लगाउन माग गरेका कानुन व्यवसायीसँग प्रधानमन्त्री देउवाले भने– गठबन्धनमा छलफल गरेर पहल गर्छु

शनिबार, ११ मंसिर, २०७८
डिजिटल संस्करण

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाभियोग लगाउन माग गरेका कानुन व्यवसायीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले ‘पहल गर्ने’ आश्वासन दिएका छन् । देउवाले शुक्रबार बिहान ज्ञापनपत्र बुझाउन बालुवाटार पुगेका बारका पदाधिकारी तथा कानुन व्यवसायीलाई यसबारे गठबन्धनमा छलफल गरेर पहल गर्ने बताएका हुन् । 

‘न्यायालयभित्रको अवस्थाबारे म पनि जानकार छु । मैले तपाईंहरूको ज्ञापनपत्र गम्भीरतापूर्वक ग्रहण गरेँ । तर, मैले एक्लैले गरेर केही हुन्न । म पहल गर्छु, गठबन्धनको बैठकमा यो कुरा राख्छु,’ प्रधानमन्त्री देउवाको भनाइ उद्धृत गर्दै भेटमा सहभागी वरिष्ठ अधिवक्ता हरिहर दाहालले भने ।

उपस्थित सबै १७ कानुन व्यवसायीका धारणा सुनेपछि प्रधानमन्त्रीले एक मिनेटमा आफ्नो जवाफ सकाएको दाहालले बताए । ‘एक त उहाँको अलि कमै बोल्ने बानी, अर्को उहाँलाई निस्किन (एमाले महाधिवेशनका लागि) हतार पनि रहेछ,’ दाहालले भने । 

सर्वोच्च बारका सचिव ऋषिराम घिमिरेले प्रधानमन्त्रीको प्रतिक्रिया सकारात्मक रहेको बताए । ‘प्रधानमन्त्रीले संसद् बोलाउँछौँ, महाभियोग लगाउँछौँ जस्ता भाषा त प्रयोग गर्नुभएन । तर, तपाईंहरूका माग पूरा गराउन पहल गर्छु भन्नुभयो । सकेसम्म प्रधानन्यायाधीशबाटै राजीनामा आओस् भन्ने पक्षमा उहाँ हुनुहुन्छ भन्ने हाम्रो ठहर रह्यो,’ उनले भने ।

भेटका क्रममा सबै कानुन व्यवसायीले जबराका कारण न्यायालयमा चरम अनियमितता बढेको भन्दै महाभियोग लगाएर हटाउन आग्रह गरेका थिए । ‘न्यायालयको समस्या गम्भीर भइसक्यो । आन्दोलनको एक महिना नाघिसक्यो । न्याय सम्पादनमा प्रधानन्यायाधीशबाट अवरोध भइरहेको छ,’ भेटमा प्रधानमन्त्रीसमक्ष राखिएका विषय उद्धृत गर्दै वरिष्ठ अधिवक्ता दाहालले भने, ‘यस विषयमा दलहरूले मौनता साँध्नुभएन । हामीले राजीनामा माग्यौँ । तपाईंहरूले कसरी हुन्छ, उहाँको पदमुक्तिको बाटो अपनाउनुपर्यो । संसद्को कुरा हाम्रो हातमा हुन्न, तपाईंहरूले आवश्यक प्रक्रिया अपनाउनुस् ।’ 

न्यायालयको वर्तमान अवस्थाबारे विस्तृतमा अवगत गराएको दाहालले बताए । ‘सहकर्मी न्यायाधीशले प्रधानन्यायाधीशसँग बेन्च सेयर नगर्ने, कानुन व्यवसायीहरूले पनि उनको इजलासमा बहस नगर्ने अवस्था आएपछि जबराका लागि राजीनामा नै सर्वोत्तम उपाय हो । तर, उनी तयार नभएकाले आवश्यक संवैधानिक प्रक्रिया अपनाउन आग्रह गरेका छौँ,’ दाहालले भने । 

प्रधानमन्त्रीसँगको भेटमा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, उपाध्यक्ष रक्षा बस्याल, महासचिव लीलामणि पौडेल तथा सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य र सचिव ऋषिराम घिमिरेलगायत थिए । त्यस्तै, पूर्वसभामुख दमननाथ ढुंगाना, अधिवक्ताहरू शम्भु थापा, रमण श्रेष्ठ, बद्रीबहादुर कार्की, दाहाललगायत सहभागी थिए । प्रधानन्यायाधीशको बहिर्गमनका लागि संसदीय प्रक्रिया सुरु गर्न सबै सहभागीले आग्रह गरेको बार उपाध्यक्ष बस्यालले बताइन् । 

जबराविरुद्ध महाभियोग लगाउन संसद्मा प्रतिनिधित्व गर्ने सबै दललाई ज्ञापनपत्र बुझाउँदै आएका बार पदाधिकारीलाई प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले शुक्रबार समय दिएका हुन् । संसद्मा रहेका सबैजसो दल जबराको बहिर्गमनको पक्षमा सकारात्मक देखिएको सर्वोच्च बारका सचिव घिमिरेले बताए । ‘हामीले ज्ञापनपत्र बुझाएकामध्ये सबैले सकारात्मक प्रतिक्रिया नै दिनुभएको छ । जसपा अध्यक्ष उपेन्द्र यादव, एमाले नेता सुवास नेम्वाङ, लोसपा नेता लक्ष्मणलाल कर्णलगायत नेताहरू पनि जबराको बहिर्गमनकै पक्षमा हुनुहुन्छ ।’ 

बारको आन्दोलन एक महिना पूरा : संघर्षका थप कार्यक्रम सोमबार घोषणा गरिने 
प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले आन्दोलन गरेको एक महिना पूरा भएको छ । ९ कात्तिकमा विज्ञप्ति निकालेर जबराको राजीनामा मागेको बारले १२ कात्तिकदेखि कालोपट्टी बाँधेर धर्ना दिनेलगायत कार्यक्रम गर्दै आएको छ । सुरुमा सर्वोच्च केन्द्रित कार्यक्रमलाई जिल्लादेखि उच्च अदालतसम्म विस्तार गरेको बारले बिहीबार अन्य पेसागत संगठन तथा नागरिक समाजलाई समेत गोलबद्ध पारेर सर्वोच्चदेखि बालुवाटारसम्म ‘न्याय–मार्च’ गर्यो । 

अब सोमबार बैठक बसेर आन्दोलनका थप कार्यक्रम तय गर्ने उपाध्यक्ष बस्यालले बताइन् । उनका अनुसार हाल एमाले र कांग्रेसको महाधिवेशनमा धेरै कानुन व्यवसायी मतदान अधिकृतका रूपमा खटिएकाले तत्काल बैठक बोलाउन सम्भव नभएको हो । 

‘केही साथी उपत्यकाबाहिर हुनुहुन्छ । त्यसैले शुक्रबार बसेनौँ । उच्च अदालतमा विरोध कार्यक्रम गरेर आउनुभएका केन्द्रीय प्रतिनिधिसँग छलफल र कार्यक्रमको समीक्षा पनि गर्न सकिएको छैन । यो विषय र आगामी आन्दोलनका कार्यक्रम तय गर्न सोमबार बैठक बस्दै छौँ,’ उनले भनिन् ।

सुझावित समाचार