शिक्षक एमाले महाधिवेशनमा गएपछि पालिकाभरिका सामुदायिक विद्यालय बन्द

शुक्रबार, १० मंसिर, २०७८
डिजिटल संस्करण

चितवनमा जारी एमालेको दशाैँ महाधिवेशनका लागि शिक्षकहरू गएपछि कपिलवस्तुको विजयनगर गाउँपालिकाभित्रका सबै सामुदायिक विद्यालय बन्द भएको बताइएको छ । विद्यालयका प्रधानाध्यापक केही दिनदेखि भ्रमणमा गएको र अधिकांश शिक्षक एमालेको महाधिवेशनमा गएपछि विद्यार्थीको पठनपाठन प्रभावित भएको विजयनगरका स्थानीय  तेजप्रसाद पौडेलले बताए । 

विद्यालयमा परीक्षा  सञ्चालन भइरहेको समयमा विद्यालय बन्द गरी राजनीतिक कार्यक्रममा जानु गलत भएको पौडेलले बताए । लुम्बिनी प्रदेशको नमुना विद्यालयमा छनोट भएको दुधधारी माविसमेत बन्द भएको स्थानीय जानकीप्रसाद यादवले बताए । शिक्षकहरू खुलेर राजनीतिमा लाग्दा शिक्षा क्षेत्रसमेत बदनाम तथा प्रभावित भएको यादवले बताए ।

विद्यालय बिदा गर्ने जानकारीसमेत नगराई शिक्षकहरू महाधिवेशनमा गएका थिए । यता विजयनगर गाउँपालिका शिक्षा शाखा प्रमुख हरिहर बेल्वासे पनि नेकपा एमाको महाधिवेशनमा गएको बुझिएको छ । विजयनगरस्थित गुगौलीको दुधधारी मावि, भटनी प्रेमनगरको हरिबोध विद्यालय, गणेशपुरको राम लौटन द्रोपती मावि, डालपुरको शिव मावि, जगदीशपुरको भुवनेश्वरी माविलगायतका विद्यालय बन्द भएको  बताइएको छ ।

त्यस्तै विजयनगर गाउँपालिका कार्यालयका अधिकांश कर्मचारी पार्टीको महाधिवेशनमा गएपछि कार्यालयको कामकाजसमेत प्रभावित भएको छ ।  

सुझावित समाचार