कांग्रेस महाधिवेशनमा सरकारले सत्ताको दुरुपयोग गर्‍याे : शेखर कोइराला

शुक्रबार, १० मंसिर, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सरकारले सत्ताको दुरुपयोग गरेको आरोप लगाएका छन्। कांग्रेस अधिवेशनका क्रममा रोल्पा, खोटाङ, रसुवा र रुपन्देहीमा मतदान अधिकृतमाथि भएको व्यवहारलाई लिएर उनले यस्तो टिप्पणी गरेका हुन्। 

‘नेपाली कांग्रेसको जारी अधिवेशनमा रोल्पा, खोटाङ, रसुवा र रुपन्देहीमा प्रहरी–प्रशासनको नांगाे हस्तक्षेप र अमर्यादित क्रियाकलाप देखियो। कांग्रेस पार्टीको आन्तरिक लोकतान्त्रिक अभ्यासमा गृह प्रशासनको काम शान्तिसुरक्षा दिने मात्रै हो,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन्। 

उनले जिल्लाहरूमा खटिएका निर्वाचन अधिकृतहरूलाई धम्क्याउने, तर्साउने र प्रहरीले बीचबाटोबाट पक्राउ गरेको  भन्दै यसप्रति प्रशासनको ध्यानाकर्षण गराएका छन्। उनले पार्टीको आन्तरिक र सांगठनिक क्रियाकलापमा कुनै पनि दखल नदिन र हस्तक्षेप नगर्न प्रहरी–प्रशासनलाई अनुरोधसमेत गरेका छन्। ‘वर्तमान सरकारले सत्ताको चरम दुरुपयोग गरेर जिल्लाहरूमा खटिएका निर्वाचन अधिकृतहरूलाई धम्क्याउने, तर्साउने र प्रहरीले बीचबाटोबाट पक्राउ गर्ने कार्यको म भर्त्सना गर्दछु,’ उनले भनेका छन्।

सुझावित समाचार